त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोग विना पाँचौँ कलेजो प्रत्यारोपण

काठमाडौँ, ८ असार । पछिल्लो छ महिना यता त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले कलेजो प्रत्यारोपणका लागि विदेशी चिकित्सकको सहारा लिने गरेका छैनन् । यो अवधीमा त्यहाँका चिकित्सकहरुले पाँचवटा कलेजो प्रत्यारोपण गरिसकेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको नेतृत्व लिदै आएका ग्यास्ट्रो तथा कलेजो सर्जन प्राडा रमेशसिंह भण्डारीले शुक्रबार आन्तरिक टिमले पाँचौ कलेजो प्रत्यारोपण गरेको बताए । उनले यो संगै त्रिवि शिक्षण अस्पतालमा १४ औ कलेजो प्रत्यारोपण जानकारी दिए ।

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको प्रत्यारोपण केही अपरान्हसम्म चलेको प्राडा भण्डारीले बताए । उनका अनुसार पछिल्लो केश महेन्द्रनगरका ४२ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई ४० वर्षीया पत्नीले कलेजो दान दिएकी हुन् ।

प्रत्यारोपण सफल भएको र दाता, लिने व्यक्ति दुवैको स्वास्थ राम्रो अवस्थामा रहेको डा. भण्डारीको भनाइ छ।

विदेशी चिकित्सकको सहयोगमा ९ वटा प्रत्यारोपण गरेको त्रिविले दशौँ प्रत्यारोपण आफ्नै स्वदेशी टिमले मात्रै गरेको थियो ।

‘गत २७ पुसमा हामीले विदेशी विना नै पहिलो प्रत्यारोपण सफलताका साथ सम्पन्न गर्‍यौँ त्यस यता हिजोको प्रत्यारोपण पाँचौँ हो । अब कलेजो प्रत्यारोपणका लागि विदेशी चिकित्सक बोलाउनु आवश्यक छैन । हामी आफै सक्षम छौँ,’ प्राडा भण्डारीले भने ।

उनले यो महिनामा यो दोस्रो कलेजो प्रत्यारोपण भएको पनि डा. भण्डारीले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुवात भने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको हो ।

साढे सात वर्ष अघि अर्थात २२ मंसिर २०७३ मा दक्षिण कोरियास्थित सामसङ अस्पतालबाट आएको चिकित्सकीय टोलीको सहयोगमा पहिलो कलेजो प्रत्यारोपण भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *