स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित

आयकर घटाउन र कमिसन बढाउने लगायतका माग अघि सारे

काठमाडौँ, ५ असार । स्वास्थ्य बीमा गराउने दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । सरकारले प्रोत्साहन भत्ताको रुपमा दिदै आएको कमिसनको दर बढाउनु पर्ने र प्रोत्साहन भत्तामा आयकर ऐन १५ प्रतिशत काटिने निर्णय फिर्ता गर्नु पर्ने भन्दै आन्दोलित भएका हुन् ।

बुधबार स्वास्थ्य बीमा बोर्ड बबरमहलमा पुगेर उनीहरुले बोर्डका कार्यकारी निर्देशक, प्रशासन प्रमुख तथा लेखाप्रमुखसंग यसविषयमा छलफल गरेका थिए ।

सो क्रममा उनीहरुले स्वास्थ्य बीमा गराएवापत पाउँदै आएको १० प्रतिशत कमिसनलाई बढाएर २० प्रतिशत बनाउनु पर्ने माग गरे । उनीहरुले गतवर्ष देखि आयकर भन्दै आफ्नो कमिसनबाट काटिएको १५ प्रतिशत कर सम्वन्धी व्यवस्था हटाउन पर्ने माग गरेका थिए । बोर्डका अधिकारीहरुंसंग लुगा भत्ता, खाजा भत्ता लगायतका सुविधाहरु समेत थपिनु पर्ने माग गरेका थिए ।

स्वास्थ्य बीमामा आवद्ध गर्न सरकारले देशभर करीव ८ हजार दर्ता सहयोगी राखेको छ । उनीहरुले प्रतिपरिवार ३ हजार ५०० रुपैयाँको बीमा गराउँदा त्यसको १० प्रतिशत अर्थात ३५० रुपैयाँ कमिसन बापत पाउने गर्दथे ।

‘पहिले पहिले यो १५ प्रतिशतको कुरा नै आएको थिएन तर अहिले आयो । ३५० रुपैयाँको पनि १५ प्रतिशत कर बुझाउँदा त हाम्रो के हाल होला ? ६ लाख भन्दा माथि कमाई भए १५ प्रतिशत आयकर तिर्नै पर्ने हो । तर दश हजार रुपैयाँ पनि नपाउने सहयोगीहरुले फेरी कर तिर्नु पर्दा निरुत्साहित भने पक्कै भएको छ,’दर्ता सहयोगी सीता आचार्यले भनिन् ।

छलफलमा बोर्डका निर्देशक डा दामोदर बसौलाले दुबै माग आफ्नो कार्यलयसंग प्रत्यक्ष जोडिएको विषय नभएको बताएका थिए । ‘कमिसन बढाउने कुरा पनि हाम्रोमा अधिकार छैन । १५ प्रतिशत घटाउने कुरा त झन् हामीले गर्न नै सक्दैनौँ । बरु त्यसका लागि हामी अधिकारीहरुलाई बुझाउन सकौंला,’ उनले भने ।

आठ बर्ष अघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७५ वटै जिल्लामा पुगेको छ । अहिले काठमाडौँ, मोरङ, झापा, ललितपुर भत्तपुर काभ्रे लगायतका ठाउँबाट आएका दर्ता सहयोगीहरुले बोर्डसंग सम्वादलाई जारी राख्ने बताएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *