फार्मेसीमाथि म्याद गुज्रिएको औषधि बिक्रीको आरोप, कार्वाही गर्न औषधि व्यवस्था विभागलाई पत्र
काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महारागञ्ज परिसरमा रहेको पानोर्मा फार्मेसीलाई कार्वाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ ।
अनुगमनको क्रममा उक्त फार्मेसीबाट म्याद गुज्रिएको औषधि बिक्री वितरण भएको पाइएपछि कार्वाहीका लागि विभागलाई पत्र पठाएको महानगरले जनाएको छ ।
उक्त फार्मेसीले दिएको सेवामा मापदण्ड विपरित रहेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि महानगरको अनुगमन टोलीले त्यहाँ पुगेको थियो । सो क्रममा म्याद गुज्रिएको औषधि समेत संगै राखेर बिक्री वितरण भएको, औषधि भण्डारण समेत मापदण्ड अनुसार नभएको पाइएको थियो ।
अनुगमन पछि फार्मेसी सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरले जनाएको छ ।
विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कामय राख्नुपर्छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो ।
यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीतको अवस्था हो । काठमाडौँ महानगर स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले भनिन् । उनले कार्वाहीका लागि औषधि व्यवस्था विभागलाई लेखि पठाएको बताईन ।
के कार्वाही हुनसक्छ ?
औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० बर्षसम्म वा जरिवाना हुने कानूनी व्यवस्था छ ।
यस्तै शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
जरिवाना गर्दा बिगो वा १ लाख रुपैयाँमध्ये जुन धेरै हुन्छ, त्यही जरिवाना हुनेछ । यसबाहेक ऐनमा लेखिएका अन्य व्यवस्थाको पालना नगर्नेलाई एक बर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
महानगरको पत्र पछि विभागले कार्वाही गर्ला कि नगर्ला त्यो भने हेर्न बाँकी छ ।
सम्पर्क इमेल : [email protected]