चिकित्सा शिक्षा आयोगले दियो बीएण्डसीलाई मेडिकल कलेजको सम्वन्धन
काठमाडौँ, ४ असार । चिकित्सा शिक्षा आयोगले झापामा रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सम्वन्धन दिने निर्णय गरेको हो ।
यसअघि सर्बोचच अदालतले बीएण्डसीलाई १५ दिन भित्र सम्वन्धन दिन आयोग तथा काठमाडौँ विश्वविद्यालयलाई परमादेश जारी गरेको थियो । सोही परमादेश अनुसार आयोगले बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बीएण्डसीका विषयमा सर्बोच्चले परमादेश नै दिइसकेको भन्दै धेरै अल्मलिन नपर्ने भन्दै अगाडि बढ्नु पर्ने बताएका थिए । प्रधानमन्त्रीको धारणा पछि सबै सदस्यहरुले सम्वन्धन दिने विषयमा सहमति गरेका थिए ।
‘सम्मानित अदालतबाट नै परमादेश आइसकेकाले यो विषयमा इफ बट केही गर्नु हुँदैन। अदालतको आदेश अनुसार नै अगाडि बढौं,’ बैठकमा प्रधानमन्त्रीले गरेको प्रस्तावको भनाई उदृत गर्दै ती सदस्यले भने, ‘अदालतको आदेशको सम्मान गर्नपर्छ। अब यो विषयलाई त्यही अनुसार नै अगाडि बढाउँ। उक्त अस्पतालका पूर्वाधारहरु राम्रा छन्। मैले पनि अस्पतालमा पुगेर हेरेको थिएँ।’
प्रधानमन्त्रीको प्रस्तावपछि बहुमत सदस्यल ताली बजाउँदै उक्त प्रस्ताव पास भएको ती सदस्यले जानकारी दिए।
बालुवाटारमा आज बसेको आयोगको १४ बैठकको प्रमुख एजेन्डा नै त्यही विषय थियो। बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए।
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।
सम्पर्क इमेल : [email protected]