बिराटनगरको लाइफगार्ड अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
स्वास्थ्य बीमामा आवद्ध नागरिकको उपचार गर्दा छुट्टै रकम असुलेको लगायतका आरोप
काठमाडौँ, १ असार । स्वास्थ्य बीमा बोर्डले बिराटनगरस्थित लाइफगार्ड अस्पताल प्रालिबाट उपलव्ध भइरहेको स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको छ ।
अस्पतालले बदमासी गरेपछि बोर्डले ३२ जेठ राती १२ बजे देखि लागू हुने गरी तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थनगन गर्ने निर्णय गरेको हो ।
सो अस्पतालमाथि स्वास्थ्य बीमामा आवद्ध बिरामीको उपचार गर्दा उनीहरुसंग छुट्टै रकम असुल गरेको लगायतका उजुरी परेको थियो ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, हेलो सरकारबाट प्राप्त गुनासो, व्यक्तिगत रुपमा प्राप्त गुनासो र सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट समेत पत्र प्राप्त भएपछि बोर्डले समिति बनाई छानविन गरेको थियो ।
सो क्रममा अस्पतालले शंकास्पद विवरण पेश गरी भुक्तानी लिएको देखिएकोले स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ (ख) बमोजिमको कसुर हुने कार्य गरेको पाइएकोले ३२ जेठ देखि लागू हुने गरी तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले सो अस्पतालमा ३२ जेठ सम्म उपचार गराईरहेका विमितको उपचार खर्च सोधभर्ना गरिदिने स्पष्ट पारेको छ ।
सम्पर्क इमेल : [email protected]