स्वास्थ्यको बजेट बृद्धि गरियोस – डा. तोसिमा कार्की
काठमाडौँ, ३१ जेठ । सांसद डा तोसिमा कार्कीले आगामी आर्थिक बर्ष २०८१ /८२ का लागि छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट अत्यन्तै न्युन रहेको भन्दै बृद्धि गर्न अर्थमन्त्री बर्षमान पुनको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभामा विनियोजन विधेयक माथि मन्त्रालयगत विषयमा छलफल गर्ने क्रममा डा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबारे टिप्पणी गरेकी हुन् ।
सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटको ४.६४ प्रतिशत मात्रै छुट्याएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउनु पर्ने बताउँदै आएको छ ।
सो क्रममा उनले स्वास्थ्य भनेको उपचार मात्रै नभएको भन्दै रोकथाम र प्रवद्र्धन र पुनस्थापनाको कार्यलाई पनि उत्तिकै महत्व दिएर बजेट छुट्याउनु पर्ने बताईन ।
यस्तै उनले स्वास्थ्यमा जनशक्ति निकै नै कम भएको २०४६ सालको दरबन्दी अनुसार अनुसारका स्वास्थ्यकर्मीलाई अहिले २०८१ को बिरामी चापलाई गुणस्तरीय सेवा देउ भनिरहेको भन्दै आपत्ति जनाइन ।
सो क्रममा उनले उपचार शुल्क निर्धारण गर्न आवश्यक भएको, महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका लागि निवारण गर्न भन्दा अघि सहि समयमा पहिचान गर्नका लागि स्क्रिनिङ कार्यक्रम ७७ वटै जिल्लामा चलाउन जरुरी रहेको बताईन् ।
यस्तै नेपालमा रगतको लागि क वर्गको रक्त सञ्चार केन्द्र आजसम्म नभएको भन्दै लाइन्स क्लवले सञ्चालनका लागि तयार पारेको केन्द्रलाई सरकारले सहजीकरण गरि तत्काल सञ्चालनका लागि व्यवस्था मिलाइदिन समेत आग्रह गरिन ।
सम्पर्क इमेल : [email protected]