विवादमा परेपछि प्रसूति गृह अस्पताल विकास समितिले रद्ध गर्यो नर्सिङ प्रशिक्षक सम्वन्धि विज्ञापन
काठमाडौँ, ३१ जेठ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदका लागि मागेको पदपूर्ति सम्वन्धी सूचना रद्ध गरेको छ ।
छैटौँ तहका लागि स्नातकोत्तर योग्यता तोकिएको भन्दै नर्सिङ समूदायबाट व्यापक आलोचना आएपछि सूचना रद्ध गरेको हो ।
परोपकार प्रसूतिका निर्देशक डा श्री प्रसाद अधिकारीले विषय विवादमा परेपछि यसलाई अघि बढाउन उचित नभएको भन्दै तत्कालका लागि सूचना रद्ध गरेको जानकारी दिए ।
उनले यो विषयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आवश्यक सल्लाह लिएर अघि बढ्ने बताए ।
‘यसअघि यस्तो पदमा पाँचौँ तह राखिने गरेको थियो । यसपटक कम्तिमा अधिकृत तहको हुनु पर्छ भनेर हामीले छैटौँ तहमा राखेका थियौँ । तर यसमा नर्सिङ समुदायले असन्तुष्टि जनाउनु भयो । हामीले यसमा मन्त्रालयबाट थप राय सल्लाह लिएर मात्रै अघि बढ्न सकिएला । अब रायका लागि मन्त्रालयमा पत्र पठाउँदै छु । उताबाट आउने जवाफका आधारमा पुन प्रक्रिया अघि बढाउनु पर्ला,’ उनले भने ।
स्नातक तहका चिकित्सकहरुको सुरुवात आठौँ तहबाट हुने तर स्नातकोत्तर तह गरेका नर्सको पद छैटौँ तह तोकिने निर्णय पक्षपातपूर्ण भयो भन्दै नर्सिङ अगुवाहरुले आपत्ति जनाएका थिए ।
महाराजगञ्ज नर्सिङ क्याम्पसकी सहप्राध्यापक अप्सरा पाण्डेले प्रसूतिगृहले विवाद पछि विज्ञापन रद्ध गरेर थप सल्लाह गर्नु सकारात्मक भन्दै योग्यता अनुसारको तह निर्धारण गरी विज्ञापन खोल्न आग्रह गरिन । उनले राज्य पक्षबाट नर्सहरुलाई पक्षपातपूर्ण व्यवहार हुनु दुखद रहेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम सञ्चालन हुने क्याम्पसमा यो खालको व्यवहार सुहाउदो नभएको बताईन ।
हिजो प्रकाशित सो विज्ञापनलाई लिएर कतिपय नर्सिङ तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले आलोचना गरेका थिए ।
सम्पर्क इमेल : [email protected]
Thank you so much