नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको सहकार्य :

सुदूर पश्चिममा निशुल्क मुटु स्वास्थ्य शिविर : अछामको मंगलसेनमा ५०० बढीको मुटु परीक्षण

काठमाडौँ, २० जेठ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको संयुक्त आयोजनामा आइतबार अछामको मंगलसेनमा निशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल अछामको सहयोग रहेको उक्त शिविरमा ५०० बढीले मुटु जाँच गराएका थिए । त्यसमा २५० जनाको ईको र ३०० जनाको इसीजी गरिएको शिविरको नेतृत्वको गरेका बरिष्ठ मुटु विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए ।

उनले आइतबार गरिएको शिविरमा ७ जनाको तत्कालै शल्यक्रिया गर्नु पर्ने देखिएको र उनीहरुलाई काठमाडौँस्थित शहीद गंगालाल हृदय केन्द्रमा रिफर गरिएको जानकारी दिए ।

विभिन्न जिल्लामा पुगेर आम सर्वसाधारणको मुटु परीक्षणमा गर्दै आइरहेको नेपाल हृदयरोग प्रतिष्ठानसंग रोटरीक्लव अफ पाटन सहकार्य गर्दै आएको छ । सोही अनुसार यी दुई संस्थाले यसपटक सुदूरपश्चिमको अछाम बझाङ र बाजुरा गरी तीन जिल्ला पुगेर निशुल्क मुटु स्वास्थ्य शिविर गर्ने योजना बनाएका हुन् ।

‘सुदूरपश्चिमका स्थानीय तथा स्कुले बालबालिकाहरुको मुटु परीक्षण तथा उपचारमा सहयोग गर्ने योजना अनुसार हामी काठमाडौँबाट सुदूरपश्चिमसम्म आएका हौँ । त्यसका लागि काठमाडौँबाट ७ जना विशेषज्ञ चिकित्सक, ८ जना प्राविधिक र ७ जना स्वयंसेवी सहित कुल २२ जनाको टोली आएको छ । आवश्यकताका आधारमा यहाँका स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि सहयोग गर्नु भएको छ,’ अछामबाट डा रेग्मीले भने ।

उनले परीक्षण क्रममा उच्च रक्तचाप, मधुमेह तथा बाथमुटुरोगको समस्या भएका धेरै व्यक्ति भेटिएको बताए ।

सुदूरपश्चिम शिविरका लागि काठमाडौँबाट डा रेग्मीको नेतृत्वमा मुटुरोग विशेषज्ञहरु डा राजेन्द्र कोजु, डा आरके साह, डा उर्मिला शाक्य, डा प्रेमराज बैद्य, डा सत्यनारायण सुवाल र डा अच्युतानन्दलाल कर्ण सहितको टोली त्यसतर्फ गएको छ ।

उनीहरुकै नेतृत्वमा आइतबार दिनभर मंगलसेनमा आम सर्वसाधारणको मुटु परीक्षण तथा उपचार गरिएको हो । टोलीले बझाङ र बाजुराका विभिन्न स्थानमा पुगेर यस्तै शिविर तथा स्क्रिनिङ कार्यक्रम राख्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *