चितवनको भरतपुरमा छारे रोगसम्बन्धी गोष्ठी तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन, १९ जेठ । नेपाली तथा जापानी बरिष्ठ चिकित्सकहरुको सहभागितामा गतसाता चितवनको भरतपुरमा छारे रोग सम्वन्धी गोष्ठी तथा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

न्युरो फाउण्डेसन नेपाल र हिरोशिमा विश्वविद्यालय अस्पताल, जापानको संयुक्त सहकार्यमा गत ११ र १२ जेठमा गोष्ठी तथा शिविर सञ्चालन गरिएको हो ।

न्युरो फाउण्डेसन नेपालका अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त , हिरोशिमा विश्वविध्यालयका छारे रोग केन्द्रका प्रमुख प्राडा कोजी ईदा लगायतका स्नायु रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, लगायतका १० चिकित्सकको टोलीले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेससँग समन्वय गरी गत साता सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम अन्तर्गत गत ११ जेठमा भरतपुरमा भएको छारे रोग सम्बन्धी गोष्ठी गरिएको थियो । सो गोष्ठीमा स्नायु शल्यक्रिया विशेषज्ञ, स्नायु रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, वाल रोग विशेषज्ञ, इन्टर्नल मेडिसिन विशेषज्ञ लगायतका ६० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

सो गोष्ठीमा प्राडा पन्त, प्राडा कोजी ईदा, छारे रोग नर्स फुका यामादा र डा रिजु दहाल लगायतले छारे रोगको विभिन्न उपचारको पद्धती र आफ्नो अनुभवको बारेमा प्रस्तुती राखेका थिए ।

यस्तै गत १२ जेठमा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा छारे रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ५० जना जटिल छारे रोगका बिरामीले उपचार सेवा लिएका थिए । जस मध्ये १४ जनाको शिविर मै ईईजी परीक्षण गरिएको थियो । जटिल मध्ये १० जना बिरामीलाई अत्याधुनिक प्रबिधिद्वारा रोगको मुल पहिचान र शल्यक्रिया उपचार गर्न अन्नपूर्ण न्युरो अस्पतालसँग समन्वय गरिएको बताइएको छ ।

कार्यक्रममा जाइका, चितवन मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पताल र नेपाल इपिलेप्सी समाजको पनि प्राविधिक सहयोग रहेको थियो । त्यस्तै गरी सो टोलीले भरतपुरपछि काठमाडौँमा थप १८ जना जटिल छारे रोगको बिरामी भेटाएको छ । यी मध्ये केही बिरामीको शल्यक्रिया गर्नु पर्ने बताइएको छ ।

न्युरो फाउन्डेशन नेपालले भविष्यमा नेपालका विभिन्न जिल्लामा यस्तै कार्यक्रम गरी सेवा पुर्‍याउने बताएको छ । यस्ता कार्यक्रमले जटिल छारे रोगी साथै छारे रोग सम्बन्धी बिरामी हेर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी पनि लाभन्वित हुने र छारे रोगको समयमै पहिचान तथा उपचार हुने भएकोले यो कार्यक्रमले निरन्तरता पाउने कार्यक्रमका संयोजक एबं न्युरो फाउन्डेसन नेपालका जनस्वास्थ्य निर्देशक डा. शरद हरी गजुरेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *