वीरको अनुगमनमा निस्केका स्वास्थ्य मन्त्री यादवले के देखे ?
काठमाडौँ, ९ जेठ । गत साता स्वास्थ्य मन्त्रीमा नियुक्त प्रदीप यादवले स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमनमा निस्किएका छन् । आज दिउसो उनी महावौद्यस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेका हुन् । दिउँसो १ बजे मन्त्री यादवसंग सचिव डा रोशन पोखरेलको नेतृत्वमा स्वास्थ्य अधिकारीहरु सहभागी थिए ।
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए। करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए।
उनले अनुगमनबाट फर्केपछि सचिव डा पोखरेलसहितको स्वास्थ्य अधिकारीहरुसग समस्या समाधानका लागि उपाय खोज्ने सल्लाह गरेका थिए । उनले वीर तथा ट्रमा सेन्टरको समस्या समाधान गर्नका लागि तीन दिन भित्र प्रतिवेदन बुझाउन समेत अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
‘वीर अस्पतालको आकस्मिक कक्षमा भीडभाड देखियो, क्षमता बढाउनै पर्ने रहेछ, एउटै बेडमा २ – ३ जना बिरामी सुतेका थिए । पछिडी रहेको डायालसिस सेन्टरको पनि क्षमता थप्नु पर्ने देखियो । त्यहाँ बिरामीले प्रयोग गर्ने बेडहरु पनि पुराना रहेछ । ओपिडीमा पनि भीडभाड नै देखियो । पछाडीपट्टी पुराना उपकरण असरल्ल अवस्थामा थुपारेको देखियो । त्यहाँ डेंगीका लामखुट्टेको बासस्थान हुन सक्छ । अर्थात देशकै पुरानो अस्पतालको अवस्था अस्तव्यस्त थियो,’ मन्त्री यादवले भने, ‘मैले यी विषयमा सम्वन्धीत अधिकारीहरुको गम्भीर ध्यानाकर्षण गराएको छु । तीन दिन भित्र यसबारेमा प्रतिवेदन दिन समेत कर्मचारीहरुलाई भनेको छु । त्यसपछि मात्रै के गर्ने भन्ने हुन्छ ।’
अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए। अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो। औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए।
मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए। त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरे।
डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए। ‘औषधीको अभाव छ, हामी स्वीकार गर्छौ,’ उनले भने, ‘दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ।’
मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए। रासस
सम्पर्क इमेल : [email protected]