प्रसूतिगृह अस्पतालमा आजबाट गर्भवती र गर्भको शिशुको मुटु जाँच सेवा थपिदै

काठमाडौँ, १ जेठ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट गर्भमा रहेको बच्चा र गर्भवती आमाको मुटुको एक प्रकारको जाँच ईकोकार्डियोग्राफी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले सेवा बिस्तार गर्ने क्रममा आजबाट फिटल इको कार्डियोग्राफी र म्याटनल इको कार्डियोग्राफी सेवा सुरु गरेको हो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले यी सेवाहरु आज अपरान्ह ५ बजे देखि सुरु हुने जानकारी दिए ।

उनले भने, यी सेवाहरु आवश्यक थियो तर जनशक्ति तथा आवश्यक उपकरणको अभावमा सञ्चालनमा ल्याउन सकिरहेको थिएन तर आजबाट भने हामीले यो सेवा सुरु गर्न सफल भएको छौँ ।

यो सेवासंगै प्रसूतिमा आउने गर्भवती महिलाले फिटल इको कार्डियोग्राफी तथा म्याटनल इको कार्डियोग्राफीका लागि अन्यत्र धाउनु पर्ने छैन ।

यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा लिनका लागि निजी अस्पताल महँगो पैसा तिरेर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालले यी सेवाहरुलाई पेइङ अन्तगर्त राखेको छ । दुबै सेवाहरु एक फरक फरक बार ३ बजेपछि टिकट लिने र ५ बजेपछि जाँच हुने व्यवस्था मिलाइएको डा अधिकारीले बताए ।

गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुनेछ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिन्छ ।

निर्देशक डा अधिकारीले म्याटनल इको कार्डियोग्राफीको शुल्क १ हजार ९०० रुपैयाँ र फिटल इको कार्डियोग्राफी गर्नका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको बताए ।

‘फिटल इको कार्डियोग्राफी गर्भ २४ हप्ता पुगेपछि गरिन्छ । २४ हप्ताको गर्भमा बच्चाको सबै अंग बनिसकेको हुन्छ । फिटल इको ग्राफीले शिशुको बंशाणुगत वा जन्मजात मुटुमा समस्या हुँदैछ कि भनेर हेर्न सकिन्छ । त्यसैले यो गर्भपरीक्षणमा यो अनिवार्य जस्तै बनेको छ । हामीले सबै गर्भवतीहरुलाई यो जाँच गराउन भन्छौँ,’ उनले भने ।

उनले गर्भवती भएका बेला आमाहरुमा पनि मुटु सम्वन्धी समस्या देखा पर्ने भन्दै त्यसको जाँचका लागि म्याटनल इको कार्डियोग्राफी सेवा सञ्चालनमा ल्याइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *