खोप लगाउन छुटेका बालबालिकालाई ३१ बैशाखमा पुन: दिईदै
काठमाडौँ, १९ वैशाख । सरकारले नियमित खोप लगाउन छुटेका ५ बर्ष मुनिका बालबालिकालाई आगामी ३१ बैशाखमा छुट खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ ।
सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ ।
सम्पर्क इमेल : [email protected]