काठमाडौँ महानगरको नि:शुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम : ७७९ को जाँच गर्दा २६ जनामा पोजेटिभ
काठमाडौँ, १४ बैशाख । काठमाडौ महानगरपालिकाले सुरु गरेको महिला लक्षित निशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रमको प्रारम्भिक रिपोर्ट आउन थालेको छ ।
महानगरपालिकाले गत ४ बैशाख देखि सुरु गरेको स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रमको प्रारम्भिक रिपोर्ट आउन थालेको हो । रिपोर्टमा केहीमा महिलाहरुमा क्यान्सरको सम्भावना देखिएपछि उनीहरुमा थप परीक्षण थालिएको छ ।
जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहका अनुसार अहिलेसम्म काठमाडौँ महानगरका वडा नं ३१, २५, २७ र ३० गरी चार वडाका जनप्रतिनिधि र महिला कर्मचारी गरी कुल ९२२ जनाको स्तन र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् स्वास्थ्य सम्वन्धी जाँच भएको छ । त्यसमध्ये वडा नं ३१, २५ र २७ गरी तीन वडाका ७७९ जनाको रिपोर्ट आएको छ । त्यसमध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको शाहले बताईन् ।
यता रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ ।
बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्ने बताइएको छ ।
डा लम्सालले बिहिबार रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको जानकारी दिईन ।
महानगरपालिकाको स्वास्थ्य विभागले निःशुल्क जाँचका लागि वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु भएको हो । शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।
पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । सुरुको जाँचका क्रममा अवस्था हेरेर अल्ट्रासाउन्ड गरिन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
बायोप्सीको रिपोर्टमा केही देखिएन भने १ वर्षसम्म फलोअप गर्न सुझाव दिइन्छ । रिपोर्टबाट सेकाउँदा (थर्मोक्वागुलेसन) उपचार हुन सक्ने देखियो भने रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गराउन थालिन्छ । सेकाएर नहुने देखियो भने यस्तो अवस्थाको उपचारका लागि अस्पतालहरुमा शिफारिस गरिन्छ ।
शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा जनप्रतिनिधि र महिला कर्मचारीको जाँच गरिएको थियो । त्यस दिन ७२ जनाले जाँच गराएका थिए । जाँच गराएकामध्ये एचपीभी डीएनए पीसीआरमा ५ जनामा पोजेटिभ देखिएको छ । प्रारम्भिक जाँचबाट शंका लागेपछि ८ जनाको स्तनको, १५ जनाको पाठेघरको अल्ट्रासाउन्ड र १ जनाको मेमोग्राफी गरिएको थियो । १३ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।
वैशाख ५ र ६ गते वडा नम्बर ३१ भीमसेनगोलामा रहेको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । २ दिनमा २१३ ले स्वास्थ्य जाँच गराए । जसमध्ये १७७ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
परीक्षणका क्रममा ५ जनाको स्तनको, ३४ जनाको पाठेघरको अल्ट्रासाउन्ड र ४ जनाको मेमोग्राफी गरियो । उनीहरुमध्ये ५९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।
वडा नं २५ र २७ लाई लक्षित गरेर बैशाख ७, ९ र १० गते ३ दिन इनबहालमा शिविर गरिएको थियो । यस शिविरमा ३३९ जनाले परीक्षण गराए । जसमध्ये २७३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ११ जनाको स्तनको, ४४ जनाको पाठेघरको अल्ट्रासाउन्ड गरिएको छ । ६९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।
वैशाख ११ र १२ गते वडा नं. ३ महाराजगञ्जमा शिविर सञ्चालन भयो ।
पहिलो दिन १२३ जनाको परीक्षण भयो । जसमध्ये ३ जनाको स्तनको, २३ जनाको पाठेघरको मुखको अल्ट्रासाउन्ड गरियो । उनीहरु मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ३४ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।
दोस्रो दिन १७५ जनाले स्वास्थ्य जाँच गराए । जसमध्ये १४३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण भयो । २३ जनाको पाठेघरको र ४ जनाको स्तनको अल्ट्रासाउन्ड गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका छन् ।
सम्पर्क इमेल : [email protected]