जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गरिने
स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालीम दिने व्यवस्था मिलाइने
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको बताएका छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिए ।
उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको बताए । यस्तै प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने व्यवस्था मिलाइने समेत जानकारी दिए ।
‘‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको छ । बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गरिँदै छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘ प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमका लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ । स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको छ ।’’
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी बताएका छन् ।
सम्पर्क इमेल : [email protected]