नेपाल नेत्रज्योति संघका महासचिव चन्दलाई अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ, १४ फागुन । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (एपीएओ) ले यस बर्षको ‘आउटस्टान्डिङ सर्भिस इन प्रिभेन्टेसन अफ व्लाइन्डनेश अवार्ड’बाट सम्मान गरेको छ ।

फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेशियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरुको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मान गरिएको हो ।

यो अवार्ड बार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ । नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै एपीएओले चन्दलाई सम्मान गरेको हो ।

नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहेका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा गुल्मी जिल्लालाई मोतिबिन्दु रहित जिल्ला घोषणा गराउने अभियानको सुरुवात गरेका थिए । यस्तै संघको सचिव तथा महासचिव पदमा रहि नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सन् १९६० मा स्थापना भएदेखि एसिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (एपीएओ) ले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत नेतृत्व गर्दै आएको छ । अन्धोपन विरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संगठनहरूबीच घनिष्ट सम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आईरहेको छ ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *