काठमाडौँ महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौंँ, १ फागुन । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताल महाराजगञ्जको फोहोर नउठाउने भएको छ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको हो।

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो।

‘अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखियो, अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’, उपप्रमुख डंगोलले भनिन् ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्न हुँदैन। त्यसैगरी फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना समेत नभएको उनले बताए।

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने टोलीले सुझाव दिएको छ।

त्यस्तै, सो टोलीले आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको पनि अनुगमन गरेको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइयो ।

स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानिकारक फोहोर निर्मूलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन नभएको र मेसिनमाथि धुलो जमेको भेटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *