आफूले जितेको अन्तर्राष्ट्रिय पुरस्कारको रकम डा. अरुणले गरे क्यान्सर बिजेताहरुको संस्थालाई हस्तान्तरण

काठमाडौँ, २१ माघ । क्यान्सर सचेतना, रोकथाम र उपचारमा सक्रिय रहेको भन्दै करीव डेढ महिना अघि बरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही ५१ हजार राशीको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका थिए ।

उनलाई एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले गत ९ पुसका दिन पर्वतको पैयुँमा विशेष कार्यक्रमको आयोजना गरि ताम्रपत्र र नगद सहित सम्मान गरेको थियो ।

आज विश्व क्यान्सर दिवसको अवसर पारेर डा.  शाहीले सो पुरस्कारको सम्पूर्ण रकम क्यान्सर बिजेताहरुको संस्था नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलाई हस्तान्तरण गरेका छन् ।

दिवसकै अवसर पारेर सोसाइटीले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. शाहीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरित स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीको हातबाट सो रकम सोसाइटीका पदाधिकारीहरुलाई हस्तान्तरण गरे ।

‘क्यान्सरका क्षेत्रमा मैले गरेको कामलाई मूल्यांकन गर्दै अमेरिकामा रहेको नेपालीहरुको संस्थाले ताम्रपत्र र नगद सहित स- सम्मान यो पुरस्कार मलाई दिनु भएको थियो । म यसमा ज्यादै खुशी छु । र, आज मैले त्यहि खुशी बाढ्नका लागि यो पुरस्कारको रकम सोसाइटीलाई हस्तान्तरण गर्ने निधो गरेँ । किनभने  सोसाइटीले निकै राम्रो काम गर्दै आएको छ । र, यस्तो सहयोगले उहाँहरुलाई काम गर्न थप उत्प्रेरणा जाग्दछ भन्ने अपेक्षा छ,’ रकम हस्तान्तरण पछि उनले भने ।

सोसाइटीकी अध्यक्ष प्रमिता खनालले डा शाहीले उपलव्ध गराएको रकम आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सहयोग गर्न खर्च गरिने बताइन् । ‘सबैभन्दा पहिले उहाँलाई धन्यवाद भन्न चाहन्छु, आफ्नो पुरस्कार रकम हामीलाई उपलव्ध गराउनु भयो । उहाँले यो मात्रै होइन, स्थापना काल देखि नै हामीलाई सहयोग गर्दै आउनु भएको छ र हामीले पनि उहाँसंग सहकार्य गर्दै आएका छौँ । उहाँले डोनेसन गरेको यो रकम हामीले आर्थिक रुपमा कमजोर भएका बिरामीको उपचारलाई सहयोग गर्न खर्च गर्नेछौँ,’ उनले भनिन् ।

क्यान्सर बिजेताहरुको ठूलो उपस्थितिमा सोसाइटीले आज क्यान्सर रोग उपचारका क्षेत्रमा जोडिएका प्रवुद्ध व्यक्तिहरुलाई राखेर क्लोज द क्यान्सर केयर ग्याप थिममा अन्तरिक्रया कार्यक्रम आयोजना गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “आफूले जितेको अन्तर्राष्ट्रिय पुरस्कारको रकम डा. अरुणले गरे क्यान्सर बिजेताहरुको संस्थालाई हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *