‘क्यान्सरबिरुद्धको हाम्रा औषधि नेपाली बिरामीका लागि सुलभ दरमा उपलव्ध बनाउँदै विश्व बजारमा निर्यात गर्ने लक्ष्य छ’
नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन भई बजार जान थालेको दुई वर्ष पुग्न आट्यो । क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै एक मात्र कम्पनी टिजिग फार्माले ३ फागुन २०७८ देखि क्यान्सरविरुद्धको औषधि बजारमा पठाउन थालेको हो । त्यस यताको अवधीमा टिजिगले आफ्नो उत्पादन दायरालाई फराकिलो बनाउँदै त लगेको छ नै, आफ्ना उत्पादनलाई स्वदेशका साथै विदेश पठाउने अवस्थामामा समेत पुगेको छ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश बैद्यसंग क्यान्सरबिरुद्धको औषधि उत्पादन र यससंग जोडिएका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार संक्षेप :
नेपालका औषधि उद्योगहरु सूचीमा टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने पहिलो र अहिलेसम्म एक मात्र कम्पनीको रुपमा सञ्चालित छ, तपाईँले क्यान्सरविरुद्धको औषधि उद्योग स्थापना गर्नुको खास कारण केही छ कि ?
पहिलो कुरा, म जहिले पनि केही नयाँ काम गर्न मन पराउने मान्छे । औषधि क्षेत्र मेरो पारिवारिक विरासत जोडिएको क्षेत्र । क्यान्सरविरुद्धको औषधिसंग जोडिनुको पछाडी मेरो आमा यहि रोगबाट स्वर्गीय हुनु भएको हो । त्यसैले मेरो मनमा क्यान्सरविरुद्धको अभियानमा कुनै न कुनै ढंगले देशका लागि योगदान गर्न सकिन्छ कि भन्ने थियो । अर्को कुरा नेपालमा क्यान्सरका बिरामीले सहज रुपमा औषधि नपाउने अवस्था पनि थियो । त्यहि योजना अनुसार अघि बढ्दै जाँदा क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने टिजिगको स्थापना भयो र अहिले यसैले उत्पादन गरेका औषधिहरु बिरामीले सेवन गरिरहनु भएको छ ।
औषधि क्षेत्रमा यहाँहरुको पारिवारिक विरासत जोडिएको कुरा गर्नु भयो ? औषधि क्षेत्रमा यहाँहरुको उपस्थिति कहिले देखि ?
हामी बैद्यहरु आयुर्वेदिक औषधिमा त पहिले देखि नै लागेको कुरा भयो । मेरो बुबाको पाला देखि भने एलोपेथिक औषधिको व्यवसाय पनि सुरु भयो । मेरो बुबा हरिहरानन्द बैद्यले काठमाडौँको कमलाक्षीमा विसं २०२५ साल तिर नै औषधि पसल खोल्नु भएको थियो रे । जवकी त्यसबेला काठमाडौँ यस्ता एलोपेथिक औषधि पसलहरु ८ – १० वटा मात्रै थियो रे । विसं २०३० सालमा नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) स्थापना गर्दा गठन गरेको तदर्थ समितिमा पुष्पलाल राजभण्डारी अध्यक्ष र मेरो बुबा सदस्य हुनु भएको रहेछ । पछि मेरो काका दिलचन्द्रानन्द बैद्य एनसीडीएको बागमती अञ्चलको अध्यक्ष समेत हुनु भएको थियो ।
त्यसैले पनि यो क्षेत्र हाम्रो पारिवारिक विरासत बोकेको क्षेत्र हो भन्ने लाग्छ । र, मैले पनि यहि क्षेत्रमा हात हालेँ ।
मलाई थाहा थियो नीतिगत रुपमा र देशमा लगानी मैत्री बातावरण भन्ने तर यत्तिकै बसेर मात्रै पनि हुँदैन । केही त गर्नै पर्छ , कसैले त गर्नै पर्छ भन्ने लागेर मैले यो क्षेत्रमा हात हालेको हुँ । सबैको सहयोग लिएर आएको हुँ ।
टिजिगसंग जोडिएर आउने अर्को विषय फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीए) र टेक्नोलोजी ट्रान्सफरको कुरा छ, नेपालमा लगानी मैत्री बातावरण छैन, विदेशीहरु लगानी गर्न उत्सुक हुँदैनन् भनिएको बेलामा तपाईँ चाहि कसरी सफल हुनु भयो ?
महत्वपूर्ण प्रश्न गर्नु भयो, बुबाले औषधि व्यवसाय गरे पनि म भने त्यसतर्फ थिईन् । मलाई आफ्नो दक्षता नेपालको कानून, लगानी, औद्योगिक परियोजना, वित्तिय पक्षको विश्लेषण आदि कुराहरुमा अलि बढी छ जस्तो लाग्छ । म ती विषयहरुमा साना ठूला कामहरु पनि गर्दै आइरहेको थिएँ ।
तर मेरो ध्यान सदैव नेपालमा अति आवश्यक भएको क्षेत्रको पहिचान गर्ने र त्यसमा विदेशी लगानी भित्र्याउन पाएँ, कति मज्जा हुन्थ्यो भन्ने तर्फ हुने गर्दथ्यो ।
मैले सन् २००४ तिरबाट केही अमेरिकी परियोजनाका लगानीकर्तासंग काम गर्ने मौका पाएँ । त्यसपछिका वर्षहरुमा मेरो भारतका इन्भेस्टरहरुसंग पनि जानपहिचान भयो । परिवारको औषधि व्यवसाय, आमाको क्यान्सर रोगबाट निधन, नेपाली बिरामीहरुले सहज रुपमा क्यान्सर विरुद्धको औषधि नपाईरहेको अवस्था, केही नयाँ गर्नुपर्छ भन्ने सोच राख्ने मलाई ‘ट्रिगर’ गरिहाल्यो र मेरो मनले भन्थ्यो नेपालमा एन्टीक्यान्सर ड्रग उत्पादन गर्ने उद्योग खोल्नुपर्छ ।
मैले आज सम्झन्छु, भारतका लगानीकर्ता र हैदरवादस्थित एसपी एक्युर ल्याव जसले टेक्नोलोजी ट्रान्सफर गरिदियो । हामी माथि विश्वास गर्ने ती विदेशी लगानीकर्ताहरु महान हुन भन्ने लाग्छ । अहिले पनि मनै देखि धन्यवाद भन्न चाहन्छु ।
अर्को कुरा, हामीले के बुझ्नु पर्छ भने नेपाल जस्तो देशमा यहाँको हरेक किसिमको बातावरण नबुझी कसैले पनि पैसा यति सजिलै लगानी गर्दैन र टेक्नोलोजी ट्रान्सफर त परको कुरा । म लगानीकर्ताहरु के खोज्दछन्, लगानीको सुरक्षा कसरी गर्नुपर्छ । लगानीकर्ताको सुरक्षा कसरी हुनसक्छ भन्नेमा काम गर्दै आएको थिएँ ।
देशमा भएको ‘एडभर्स सिचुएसन’ आफ्नो ठाउँमा छ । राजनीतिक अस्थिरता पनि आफ्नो ठाउँमा छ । तर लगानीकर्ताले त्यो अवस्था हेरेरै हामीकहाँ लगानी गर्न राजी भएका हुन् । यसमा हामीले धेरै कोणबाट छलफल गरेर ‘कन्भिन्स’ गरेका हौँ ।
भन्न त सरकारले लगानी मैत्री बातावरण भनेकै हुन्छ, तर कहाँ कहाँ नमिलेको, सहजताका साथ काम नभएको जस्तो हुन्छ कता कता । हाम्रोमा आएको जस्तो लगानीकर्ताहरु बंगलादेश वा श्रीलंकामा गएको भए, उनीहरुलाई दिईने लगानीमैत्री सुविधा, प्रोत्साहन प्याकेज नै छुट्टै हुन्थ्यो । हामीकहाँ त्यो पद्धतीको विकास अझ् हुन सकेको छैन । हामीकहाँ अझै पनि त्यो पुरानो शैली मै छौँ । त्यसैले विदेशी लगानीका लागि बातावरण बनाउन राज्यले नै केही नीतिगत निर्णय गर्नु पर्छ । र व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ ।
तपाईँको नजरमा क्यान्सर उपचारको हिसावले हामी कहाँ निर छौँ जस्तो लाग्छ ?
नेपालमा क्यान्सरको उपचारका लागि राम्रा अस्पतालहरु छन्, योग्य डाक्टरहरु पनि छन् । तर, उपचारमा प्रयोग हुने औषधि आफ्नै थिएन । अर्थात क्यान्सर रोगविरुद्ध उपचारका लागि प्रयोग हुने औषधि, बिरामीलाई दिईने सबै औषधि आयात गर्नुपर्ने अवस्था थियो । अहिले पनि भइरहेको छ । हामीले यहि ग्यापलाई हटाउन नेपालमै क्यान्सरविरुद्धको औषधि बनाउँ भनेर सुरु गरेका हौँ । अत्याधुनिक उपकरणसहितका अस्पताल, दक्ष चिकित्सक संगै अब औषधि समेत स्वदेशमै उत्पादन हुने भएपछि निश्चय नै क्यान्सरको उपचारमा नेपाल एक कदम अघि बढ्यो भन्न पनि सकिन्छ ।
क्यान्सर विरुद्धको औषधि नेपालमै उत्पादन गर्ने तपाईँको परियोजना कोभिड -१९ महामारीमा परयो है ? कसरी पार लगाउनु भयो त्यो अवस्थालाई ?
हो, हामीले सन् २०१८ देखि यो परियोजना सुरु गरेका थियौँ । तर सन् २०१९ को अन्त्यतिरबाट विश्वव्यापी रुपमा कोभिड – १९ को महामारी देखा पर्यो । नयाँ उद्योगको सुरुवातमै यस्तो प्रकोपले छेक्दा के भयो होला ? तपाईँ कल्पना गर्नुहोस त । तर, हामीले पार लगायौँ ।
नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने पहिलो उद्योगको रुपमा हामी आउँदै थियौँ, हाम्रा लागि पनि सबै नै नयाँ थियो । फ्याक्ट्रीले आउट एप्रुभल अघि बढायौँ, एप्रुभल भयो । साइटमा आइईई भयो । साइटमा रेजिष्टेन्सहरु भयो । स्थानीयसंग समन्वय गरियो । सबै प्रक्रिया पुरा भयो र फ्याक्ट्रि निर्माणका लागि जग खनेर केही माथि उठ्न थालेको थियो त्यहि बेलामा कोभिड-१९ देखा पर्यो।
कोरोना सुरु हुँदा हामी लगभग ‘डिजास्टर सिचुएसन’मा पुगेका थियौँ । म बस्ने काठमाडौँ, फ्याक्ट्री नाला बनेपा, लकडाउनको अवस्था, त्यसमाथि हाम्रा कामदार र पविधिकहरु भारतीय । भारतबाट कोरोना आयो भन्ने त्यसबेलाको हल्ला । अवस्था बर्बाद नै थियो । तर अहिले धन्यवाद दिन चाहन्छु त्यसबेला हामीलाई काठमाडौँ, भक्तपुर र काभ्रेको प्रशासनले निकै सहयोग गरयो । तीन वटै जिल्लाका प्रहरी प्रशासनले हाम्रो बाध्यतालाई बुझेर मिल्ने सम्म सहजिकरण गरिदिनुभयो । दिनका दिन उपत्यकाबाट बाहिर जाने व्यवस्था मिलाइदिनु भएको थियो । स्थानीय निकायले हाम्रो औषधिको सेन्सेटिभ कुरालाई बुझिदिनुभयो ।
त्यसबेला हाम्रो फ्याक्ट्रिमा इन्जिनियरिङ टिम नै ३० भन्दा बढी थियो । कोरोना भारतबाट आएको हो भन्ने धारणा गाउँघरमा व्यप्त थियो । त्यसबेला उनीहरुको सुरक्षाको अर्को चिन्ता थपियो ।
लोकल लेभल र पोलिटिकल लेभलमा पनि यसबारेमा समन्वय गर्नुपर्ने सम्झाउनु पर्ने अवस्था थियो । वडाध्यक्ष, नगरप्रमुख देखि स्थानीय प्रशासनसम्म हामीले आफ्नो अवस्था र बाध्यताबारेमा नियमित जानकारी गराई रहयौँ । भाग्यवस उहाँहरु सबैले बुझिदिनु भयो र सहयोग गरिदिनुभयो । लोकल लेभलको साथकै कारण कुनै एक दिन पनि नरोकिईकन साइटको भित्र चाहि काम चलि रहयो ।
हामीले भन्सारबाट पनि सहयोग पायौँ । आजको दिनमा म यी सबै सरकारी निकायलाई पनि धन्यावाद दिन चाहन्छु । यसै कारणले हामीले कोरोना सकिनासाथ हामीले बजारमा उत्पादन गरेको औषधि सहित उपस्थित हुन पायौँ । यो एक किसिमले सरप्राइज पनि भयो ।
अब औषधिबारे कुरा गरौँ, बजारमा सुरुवात गर्दा तीनवटा मोलिक्युलबाट बनेका क्यान्सरको औषधि पठाउनु भयो है ?
हाम्रो सबैभन्दा ठूलो च्यालेन्ज के भयो भने औषधि फ्याक्ट्री खडा भयो अब त सबै क्यान्सरका औषधि नेपालमै पाइन्छ भन्ने आम बुझाई भयो ।
एउटा मोलिक्युलको तीनवटा स्ट्रेन्थ छ भने त्यो तीनवटालाई प्रतेक वटाको रुपमा औषधि व्यवस्था विभागमा दर्ता गर्नु पर्छ । विभागले यो सबै कुरालाई इन्डिभिजिअल रुपमा हेर्ने हुँदा हामी हरेक पटक एउटा औषधिका लागि जाँदा खेरी इन्डिभिजुअली डकुमेन्ट पेश गर्नुपर्छ । हरेक औषधिको डकुमेन्ट, फर्मुलेसन सबै दिएर सबै प्रडक्ट लाइसेन्स, र मार्केट लाइसेन्स लिएर ।
पहिले तीनवटा मोलिक्युलमा औषधि लिएर बजार आयौँ । त्यसमा क्यान्सरमा बढी प्रयोग हुने औषधिहरु थियो । अहिले औषधि निर्यात गर्नका लागि पनि १६ मोलिक्युलको २९ वटा स्ट्रेन्थमा उत्पादन भइरहेको छ ।
हामीले बनाउने औषधिहरु खाने ट्याब्लेट वा क्याप्सुलमा फर्ममा हुन्छ । ओरल औषधि हो । हाम्रो औषधिहरु टार्गेटेड थेरापी अन्तरगत पर्दछ । फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेटको क्यान्सर, स्तन क्यान्सर, मिर्गौला, सिकल सेल एनिमिया, ल्युकेमिया लगायतका बढी देखिने क्यान्सरका लागि औषधिहरु आइसकेको छ ।
नेपालमा बनेको औषधि भनेपछि कतिपयले गुणस्तरमा प्रश्न गर्ने गर्दछन् ? टिजिगको उत्पादनमा यस्ता प्रश्नहरुको सामना गर्नु परेको छ कि छैन ?
सबैभन्दा ठूलो च्यालेन्ज भनेको हामी आफैले आफैलाई विश्वास नगरेको अवस्था हो । मैले के भन्न चाहन्छु भने आजको नेपालमा औषधि मात्रै होइन धेरै उद्योगहरु विश्वस्तरीय गुणस्तरीय छन् ।
अहिले टिजिगबाट उत्पादित औषधिहरु ठूला सरकारी तथा निजी क्यान्सरका अस्पतालहरुका फार्मेसीमा पाइन्छन् । ती अस्पतालका डाक्टरहरुले प्रेस्काइव गरिहेका छन् । गुणस्तरमा आशंका भएको भए त्यसरी प्रेस्काइव गर्थे होला ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौँ । विभागले प्रत्येक चीजहरुको विश्लेषणात्मक प्रतिवेदन हेर्ने, औषधिहरुको स्याम्पल थर्ड पार्टी ल्यावमा पठाउने देखि सबै परीक्षण हुन्छ । यति मात्रै होइन प्याटेन्ट ड्गर अनुसार सबै हुवहुँ मिल्नुपर्छ । त्यो नभई लाइसेन्स नै पाउँदैन । औषधि व्यवस्था विभागले त्यो नहेरी लाइसेन्स नै दिदैन । त्यसैले गुणस्तरमा शंका नगरौँ ।
टिजिगको उत्पादन कत्तिको प्रयोगमा आएको छ ?
मैले माथि नै भने, भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर सेन्टर नेपालगञ्ज, सिभिल अस्पताल काठमाडौँ, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि , काठमाडौँ क्यान्सर सेन्टरमा हाम्रा औषधिहरु प्रयोग भइरहेको छ । अन्य अस्पतालबाट पनि हाम्रा औषधिको लागि माग आएको छ । हाम्रा औषधिले स्वास्थ्य लाभ लिएर धन्यवाद दिएका बिरामी र चिकित्सक पक्षहरुका सन्देश पनि हामीले प्राप्त गर्न थालेका छौँ ।
क्यान्सरको औषधि महंगो हुन्छ भन्ने छ ? तपाईँको उत्पादन कस्तो छ नि ? नेपालीले सस्तोमा गुणस्तरीय औषधि खान पाउँछन् ?
हाम्रो नारा नै ‘गुणस्तरीय औषधि सुलभ मूल्यमा’ भन्ने छ । हामीले अन्तराष्ट्रिय गुणस्तरका औषधिहरु कम्तीमा ३० प्रतिशत सस्तो मूल्यमा वितरण गरेका छौँ । यसले प्रयोगकर्ता बिरामी र उनीहरुका आफन्तमा ठूलो राहत दिन्छ भन्ने लाग्छ ।
सन् २०१८ पछिका यी छ वर्षको अवधीमा नयाँ उद्योग खोल्दाका भोगाइ के कस्ता भए ? राज्य पक्षलाई के सुझाव दिनुहुन्छ ?
कुनै पनि देशले श्रम निर्यात गरेर प्रगति गर्दैन । देशमै उद्योग धन्दा कलकारखाना खोली, विदेशी लगानी भित्र्याउन सकेमा छिटो प्रगति हुनसक्छ । औषधिकै कुरा गरौँ न मैले धेरथोर लगानी भित्र्याएँ । बातावरण बास्तवमा बन्दै गयो भने मल्टी नेशनल कम्पनीको लगानी आउन सक्छ । यसले रोजगारी र अर्थ तन्त्र चलायमान बन्छ ।
त्यसैले राज्यले विदेशी लगानीका लागि सरोकारवाला निकायलाई विशेष नीतिगत निर्देशन दिनुपर्छ जस्तो लाग्छ । सरकारी निकायबीच समन्वयको जरुरी हुन्छ । यदि औषधि क्षेत्रमा हामी विदेशी लगानी तथा टेक्नोलेजी भित्र्याउने हो भने अहिलेको व्यवस्थामा केही परिवर्तन गर्नुपर्छ ।
जस्तै: जलविद्युतमा राज्यले केही सहुलियत दिएको छ । यस्तै औषधिका क्षेत्रमा यस्ता सहुलियत दिनुपर्छ । लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । प्रक्रियागत कुराहरुलाई फास्टट्रयाकबाट मिलाउनु पर्छ । राष्ट्र बैंकले औषधिमा हुने लगानी सम्वन्धी नीतिमा पनि पुर्नबिचार गर्नु पर्छ ।
हिजोको दिनमा नयाँ मोलिक्युल आएको थिएन । टेक्लोजोजी ट्रान्सफर कसरी हुन्छ भन्ने पनि जानकारी थिएन । औषधिमा विदेशी लगानी हुन्छ कि हुँदैन भन्ने पनि थिएन । तर आज त्यो डाउट त ओभरकम भयो । आजको दिनमा सरकारले पनि औषधि हाम्रो स्टेन्थ हो भनेर यसलाई आफ्नो प्राथमिकतामा राख्नु पर्छ ।
टिजिगको अबको लक्ष्य के हो ?
नेपालमा क्यान्सरका हजारौँ बिरामीले सुलभ हिसावले हामीले उत्पादन गरेको गुणस्तरीय औषधि सेवन गर्नु भएको छ । अबको हाम्रो लक्ष्य भनेको यो अवस्थालाई स्थिर राख्दै थप नयाँ मोलिक्युलहरु ल्याउने र विदेश समेत निर्यात गर्ने हो ।
विश्व क्यान्सर दिवसको अवसरमा नेपालको औषधि उद्योगीको नाताले के सन्देश दिनुहुन्छ ?
क्यान्सर दिनानुदिन बढी रहेको छ । यसले हामी सबैलाई चिन्चित तुल्याएको छ । यसको न्युनिकरणका लागि हामीले आफ्नो खानपान, जीवन शैलीमा ध्यान दिनु पर्छ । राज्यले क्यान्सर स्क्रिनिङमा जोड दिनुपर्छ ।
हिजोको दिनमा क्यान्सर अति नै डरलाग्दो थियो भने आजको दिनमा क्यान्सर जितेका व्यक्तिहरुले सर्भाइभर सोसाइटीहरु जस्ता संस्था खोलेर सक्रिय रुपमा काम गरिरहनु भएको अवस्था छ । अर्थात क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन । हौसला राख्नु होला । उपचारका अनेकन विधि छन् ।
सम्पर्क इमेल : [email protected]