‘क्लिनिकल ट्रायल’को नयाँ गाइडलाइन बनाउँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ, १७ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायल सम्वन्धी नयाँ गाइडलाइन बनाउँदै छ । सन् २००५ मा बनेको पुरानो गाइडलाइनको ‘अपडेटेड भर्सन’को रुपमा नयाँ गाइडलाइन ल्याउन लागिएको हो ।

गाइडलाइन मस्यौदा समितिका संयोजक प्राडा जनक कोइरालाले पुरानो गाइडलाइनमा छुटेका महत्वपूर्ण विषयवस्तुलाई नयाँ गाइडलाइनमा समावेश गर्न खोजिएको बताए ।

यसैबीच मंगलबार परिषद्ले प्रमुख सरोकारवाला व्यक्तिहरुसंग क्लिनिकल ट्रायलको तयारी कार्याशाला गोष्ठीको आयोजना गरेको छ ।
मस्यौदा समितिका संयोजक तथा सदस्यहरुसहित प्रमुख सरोकारवाला पक्षसंग गरिएको छलफलमा नयाँ गाइडलाइनमा थप गर्नु पर्ने पक्षको बारेमा छलफल भएको थियो ।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायल सम्वन्धी नयाँ गाइडलाइनको अन्तिम रुप दिन लागिएको भन्दै अव बस्ने बोर्ड बैठकले यसलाई स्विकृत गर्ने बताए । ‘यो कार्याशालामा उठेका कुराहरुलाई समेटेर समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ र आगामी बोर्ड बैठकले यसलाई स्वीकृत गर्नेछ,’ उनले भने ।

गाइडलाइन मस्यौदा समितिका एक जना सदस्य डा. खेम कार्कीले पुरानो गाइडलाइनको संसोधन गर्दै नयाँ गाइडलाइन बनाउन लागिएको बताए ।

‘सन् २००५ मा प्राडा सच्चेकुमार पहाडीको नेतृत्वमा क्लिनिकल ट्रायल सम्वन्धी गाइडलाइन थियो । त्यसबेला औषधिको ट्रायल मात्रै समावेश थियो । तर अब औषधि, खोप, प्रविधिजन्य स्वास्थ्य सामग्री, डिभाइस, थेरापी, कम्युनिटी ट्रायल समेत गरेर यसलाई अलि व्यापक गाइडलाइन गराउन खोजिएको छ,’ उनले भने ।

डा. कार्कीले अहिलेको गुड क्लिनिकल प्राक्टिसहरुलाई अहिले संसारभरी भएको चलनलाई नयाँ अपडेटहरु, खासगरी अनुसन्धान र आचार संहितासंग जोडिएको नयाँ अपडेटहरुलाई पनि यसमा राख्न खोजिएको बताए । उनले चिकित्सकीय अनुसन्धानलार्य पनि नयाँ औषधि नयाँ खोप नयाँ प्रविधि पत्ता लगाउन भएको हुनाले यो अनुसन्धानले जो मान्छेमा यो प्रयोग गरिन्छ उसको प्रोटेक्सन गर्ने गरी यो गाइडलाइन तयार गरिएको बताए ।

प्राडा जनक कोइराला संयोजक रहेको मस्यौदा समितिमा डा. कार्की सहित डा सुधा बस्नेत, डा दिप्तेस अर्याल, डा दिपेश मानन्धर, डा मेघराज बन्जरा सदस्य रहेका छन् । परिषद्की नमिता घिमिरे यो समितिको सदस्य सचिव रहेकी छन् ।

मंगलबारको छलफलमा प्राडा शिवकुमार राई, प्राडा रमेशकान्त अधिकारी, प्राडा जीवन शेरचन, डा हरि ढकाल, डा सविना श्रेष्ठ लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *