बढी बोल्छन् बस्नेत

काठमाडौँ, २९ पुस । ‘भर्खर बहुदलीय व्यवस्था आएको थियो । पर्यटन बोर्डमा एक जना डाँगी थरका निर्देशक थिए । उनलाई जबरजस्ती घोक्रेठ्याक लगाएर बाहिर निकालिएछ । अर्को समूहले त्यो ठाउँमा अर्को मान्छेलाई लगेको रहेछ । डाँगी मेरो कलेज पढ्दाका साथी थिए । उनले म संग आफू समस्यामा परेको गुनासो पोखे । मैले यसको औषधि म संग छ भने । उनीसंग थप कुरा बुझेँ । उनले भने मलाई निकाल्न खेलकुद परिषद्बाट खेलाडी केटाहरु ल्याएको छ भने । म पनि खेलाडी हुँ । कस्ता केटाहरु ल्याएको रहेछ भनेर बुझ्न लगाएँ । ४० जना जति पैसामा विक्ने जुरियर केटाहरु ल्याएको रहेछ । मैले ६० जना सिनियर केटाहरु तयार पारेँ र पठाइदिएँ र भने ठोकेर लखेटनु भने । त्यहि अनुसार काम भयो ।’

गत शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालमा केही कामचोर कर्मचारी रहेको र त्यस्ता कर्मचारीलाई तह लगाउनु आफू पछि नहटने भन्दै गर्दा निकालेको प्रशंग थियो यो ।

उद्घाटन र चर्का भाषण गर्न रङ्ग मान्ने बस्नेत, कहिलेकाँही बोल्दा बोल्दै आफ्नै सीमा बिर्सन्छन् । झट्ट सुन्दा उनका भाषण झट्ट जोशिलो हुन्छ, साहसी देखिन्छन् पनि । तर काम गराई भने उही,  स – साना कुरामा अल्झिरहने ।

शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले आयोजना गरेको मेसिन उद्घाटन कार्यक्रममा सहभागी भएका मन्त्री बस्नेत सोही रुपमा प्रस्तुत भए । आफ्नो विगत कोट्याए ? आफूले के सम्म गर्न सक्छु भन्दै एक हिसावले धम्की नै दिए ।

उद्घाटन कार्यक्रम पछि मन्त्री बस्नेतले  त्यहाँ करीब ४१ मिनेट लामो भाषण गरेका थिए । सो क्रममा उनले वीरका केही स्वास्थ्यकर्मी तथा कर्मचारी असाध्यै राम्रो गरेको भन्दै प्रशंसा गरे । केही भने असाध्यै खराब रहेको भन्दै कडा कार्वाही गर्नुपर्ने खालका रहेको बताए ।

उनले वीर अस्पतालमा देखिने बिकृत्तिको प्रसंग निकाल्दै अस्पताल जस्तो अत्यावश्यक सेवा दिने थलोमा एक्कासी हुने हडताल, तालावन्दी जस्ता क्रियाकलाप रोक्नु पर्ने बताए । उनले केही समय अघि स्वास्थ्यकर्मीहरुले प्रशासन तथा लेखा शाखामा गरेको तालावन्दीको प्रशंग निकाल्दै यस्ता गतिविधि अब फेरी भए आफूले ठिक पार्ने चेतावनी समेत दिए । मन्त्रीको भाषण यतिसम्म पनि ठिकै थियो ।

तर, बोल्दा बोल्दै उनले सीमा नाघे । उनले भने, ‘म सबै खाले औषधि छ, कसलाई कसरी ठिक पार्नु पर्छ मैले जानेको छु ।’

उनले अझ अगाडी बढेर उदाहरण दिएर पर्यटन बोर्डमा नियुक्त भएको आफ्नो साथीलाई जोगाउन आफूले के के गरेँ भनेर आफ्नै विगत कोट्याए ।

‘बहुदलीय व्यवस्था सुरु हुँदा ताकाको समय हो । मेरो साथी पर्यटन बोर्डको निर्देशक बनेको थियो । अर्को समूहले उसलाई बलजफ्ती रुपमा हटाएछ । त्यो कुरा मलाई भन्यो । उसले अर्को समूहले आफूलाई हटाउन पैसामा विक्ने ४०-४२ जना खेलाडी केटाहरु ल्याएको पनि सुनायो त्यसपछि मैले ६० जना बढी प्रशिक्षक लेभलको खेलाडी पठाईदिएँ । तिनिहरुलाई ठोकेर लखेटन निर्देशन दिएँ । उनीहरुले त्यहि गरे,’ मन्त्री बस्नेतले भने ।

‘अब पनि बीरमा यसैगरी ताला लाग्यो भने मै आएर काटिदिन्छु । त्यसको प्रतिकार गर्न को आउँदो रहेछ हेर्छु म पनि अनि बल्ल गेम सुरु हुन्छ,’ । उनले त्यहि भने ।

पटक पटक आफू सबै खाले औषधि बोकेर हिड्ने व्यक्ति भएको भन्दै आफूलाई गान्धी नसम्झिन चेतावनी दिए ।

करीब ४० मिनेट लामो भाषणमा सुरुका ४ मिनेट समारोह बारेमा बोले तर त्यसपछि भने उनले आफ्ना असन्तुष्टी र चेतावनी बर्षाउन थाले ।

माथिल्ला र जिम्मेवार तहमा बसेका व्यक्ति देखि काम चोर कर्मचारीहरुले सिमा नाघेर आफूविरुद्ध लेखेको भन्दै रन्किएका मन्त्री बस्नेतले भाषणका क्रममा घरि घरि सिमा नाघेको प्रष्ट देखिन्थ्यो ।

‘न्याम्सका उपकुलपति, रजिष्ट्रार, डीन, डब्लुएचओका नेपाल प्रमुखलाई मञ्चमा राखेर गरेको भाषण चौतारोमा बसेर चिच्चाए जस्तो थियो । खाली म खतरा छु, मैले सबै जानेको छु । मैले चाहेँ भने जे पनि गर्न सक्छु । भन्दै धम्की मात्रै थियो । अहिलेको जमानामा कर्मचारीलाई यसरी धम्की दिएर नतिजा ल्याउँछु भन्ने कसरी सोच्या होला ?’  एक जना कर्मचारीले भने ।

मन्त्री बस्नेतले भाषण कै क्रममा वीरमा हटाइएका कर्मचारी र थपिएका कर्मचारीको विषयमा आज स्पष्ट पार्छु भनेर सुरु गरे । किन हटाउनु परयो र किन राख्नु परयो भनेर पनि भने तर त्यसरी राख्दा उनले १३ जनामा १० जना आफ्नो जिल्लाकै मात्रै कसरी परे भनेर खुलाउन सकेनन् ।

उनले आफू देशभर वीरले राम्रो गरेको भन्दै हिडेको तर बीरका कर्मचारीले राम्रो भएन भन्दै आफ्नै संस्था विरुद्ध बोल्दै हिडेको भन्दै असन्तुष्टी पोखे । तर, बास्तविकता भने त्यहि नै थियो कि मन्त्रीले वीरको व्यवस्थापन होडल्दा बढदै गएको सेवा खुम्चिएको थियो ।

अक्सिजन र खाना नरोक्नका लागि वीरले आफ्ना स्टाफको तलव रोकेर त्यो पैसबाट व्यवस्थापन गरेको थियो तर मन्त्रीले कहाँ रोकियो कहिले रोकियो भन्दै जंगिए ? उनले अक्सिजन र खाना रोकिएको भनेर समाचार लेखाएका कारण बिचरा प्रधानमन्त्रीले समेत चासो राख्न परेको भन्दै त्यसमा समेत वीर अस्पताल नेतृत्वको आलोचना गरेँ ।

तर, बास्तवमा मिडियाको दवावले नै प्रधानमन्त्रीले चासो राखेका कारण अर्थ मन्त्रालयले तत्कालका लागि केही रकम पठाएको छ । आवश्यक थप रकम पनि आउने भएको छ ।

‘आफूले निर्णय गर्दा न कानून हेर्छन, न भाषण गर्दा बोलीमा सिमा राख्छन् । अरुलाई भने नियम कानून र आदर्श छाट्छन् । यो उनको दोहोरो चरित्र हो,’ वीरका एक कर्मचारीले भने ।

‘कर्मचारीलाई ठेगान लाउन अर्को ऐन ल्याउनु पर्ने भएको छ । त्यो बेलामा पनि निहुँ खोज्लान, खोज्दै गर्छन । ऐन ल्याएर भए पनि बेथिति हटाउँछु । संविधान त परिवर्तन हुन्छ जावो ऐनको के कुरा,’ मन्त्री बस्नेतले भाषणमा भनेका थिए ।

‘वीरमा समस्या छ, केही कामचोर कर्मचारी पनि होलान । ऐन परिवर्तन नहुने भन्ने पनि भएन । तर कामचोर व्यवहार आफैले पनि त देखाउन भएन । आफ्ना मान्छे भर्ति गर्न दवाव दिने, खरीद देखि पूर्वाधार निर्माणसम्म काममा मन्त्रीका मान्छे भन्दै सचिवालय सक्रिय हुने अनि अहिले अर्को पट्टी मात्रै चोर औला तेर्स्र्याउने ? आफू तर्फ फर्केको अरु  चार औला हेर्ने कि नहेर्ने ?,’ वीरका एक अर्का एक स्वास्थ्यकर्मीले भने ‘यी मन्त्री अलि बढी बोल्दा रहेछन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *