मेडिकल काउन्सिलबाट विदा भए डा. अधिकारी
काठमाडौँ, २० पुस । नेपाल मेडिकल काउन्सिलबाट रजिष्ट्रार डा कृष्ण अधिकारी विदा भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो रजिष्ट्रार अधिकारी सहित चार जना सदस्यहरुको पदावधि सकियो भन्ने व्यहोराको पत्र काउन्सिल अध्यक्ष प्राडा चोपलाल भुसाललाई पठाएको थियो ।
मन्त्रालयको पत्र पछि डा अधिकारीले आज काउन्सिल पुगेर रजिष्ट्रार पदको जिम्मेवारी छाडेको पत्र अध्यक्ष डा भुसाललाई बुझाएका हुन् ।
‘मैले आजै काउन्सिल अध्यक्षलाई आफ्नो जिम्मेवारी सुम्पेर आएँ,’ डा अधिकारीले भने ।
२०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकले चार जना सदस्य र रजिष्ट्रारको नियुक्ती गरेको थियो । सदस्यहरुको पदावधी ऐनमै चार वर्ष तोकिएको र रजिष्ट्रारको नतोकिएको तथा आफूलाई दिइएको नियुक्ती पत्रमा समेत सो कुरा उल्लेख नभएको भन्दै अधिकारीले आफ्नो कामलाई निरन्तरता दिएका थिए ।
‘मलाई चार वर्ष अघि सरकारले नियुक्त गरेको हो । फेरी सरकारले नै तपाईको कार्यकाल सकियो भनेर पत्र पठाएपछि बस्ने कुरा भएन । आज गएर जिम्मेवारी हस्तान्तरण गरिदिएँ र म बाहिरिएँ,’ डा अधिकारीले भने ।
यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै काउन्सिलका सदस्य तथा रजिष्ट्रारको पदावधी सकिएको पत्र पठाउने निर्णय गरेका थिए ।
सम्पर्क इमेल : [email protected]