मेडिकल काउन्सिल अध्यक्षलाई स्वास्थ्य मन्त्रालयले भन्यो, ‘रजिष्ट्रारको पनि कार्यकाल सकियो भनिदिनु’
काठमाडौँ, १९ पुस । स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी चार वर्षका लागि नियुक्त भएको भन्दै कार्यकाल गत ७ पुस देखि सकिएको जनाएको छ ।
उता डा अधिकारीले भने आफूलाई दिइएको नियुक्ती पत्रमा सेवा अवधि उल्लेख नभएको भन्दै अहिले पनि आफ्नो जिम्मेवारी सम्हाली रहेका छन् ।
मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाललाई सम्वोधन गरि आज पठाइएको पत्रमा रजिष्ट्रार अधिकारी सहित तीन जना सदस्यहरु किशोर बिक्रम मल्ल, डा सन्ध्या चापागाईँ र डा प्रेणित पोखरेलको पदावधि सकिएको उल्लेख छ । आज पत्रमा उल्लेखित सदस्यहरु भने ७ पुस देखि बाहिरिएका थिए ।
डा अधिकारीले आफूलाई नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १२ (१) अनुसार नियुक्त गरिएको र सो दफामा उल्लेख नभएको र आफूलाई दिइएको नियुक्ती पत्रमा पनि अवधी उल्लेख नभएको बताएका छन् ।
‘अघिल्ला रजिष्ट्रारहरुको नियुक्ती पत्रमा अवधी तोकिएको रहेछ । तर मेरोमा छैन । रजिष्ट्रार हटने वा हटाउनका लागि पनि ऐनमा विधि छ । त्यसैले मैले त नियमित रुपमा कानून बमोजिम रहेरै काम गरेको हुँ,’ उनले भने ।
त्यसो त मन्त्रालयले आज पठाएको पत्रमा पनि डा अधिकारी दफा १२ (१) अनुसार नियुक्त भएको उल्लेख गरेको छ ।
मन्त्रालयले भने नियुक्तीका बेला प्रस्ताव पठाउँदा चार वर्षे अवधीका लागि नियुक्त गर्ने भनेर पठाइएको र २०७६ पुस ७ को मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको भन्दै नियुक्ती पत्रमा के छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएको छ ।
नियुक्त भएको चार वर्ष पुगिसक्दा समेत पद नछोडेको भन्दै सत्ता निकटका चिकित्सकहरुले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुको ध्यानाकर्षणपछि मन्त्री बस्नेतले बुधबार (हिजो) मन्त्रीस्तरीय निर्णय गर्दै पद सकियो भनेर सदस्य तथा रजिष्ट्रारहरुलाई जानकारी दिनु भन्दै अध्यक्षलाई चिठी पठाउने निर्णय गरेका थिए ।
सम्पर्क इमेल : [email protected]