केएमसी छिर्न नपाएपछि सडक आन्दोलनमा छन् डा. दाहाल र उनका सहपाठी

केएमसी भन्छ, 'डा. दाहाललाई अब हामी पढाउन सक्दैनौँ'

काठमाडौँ, १९ पुस ।  सहपाठी डा. विशद दाहाल माथिको कार्वाही फिर्ता हुनु पर्ने माग राख्दै आज पनि आवासीय चिकित्सकहरुले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेट अगाडीको मुल सडकमा धर्ना दिएका छन् ।

यसअघि डा दाहाललाई केएमसी परिसर भित्र छिर्न खोज्दा मुल गेटमा रहेका सुरक्षाकर्मीले रोकेका थिए । यो क्रममा सामान्य झडपको स्थिति उत्पन्न भएको थियो ।

‘भित्र छिर्न खोज्दा सामान्य झडपको अवस्था बन्यो । अहिले हामी सडकमा आन्दोलन गरिरहेका छौँ,’ डा. दाहालले भने ।

यसअघि केएमसीले डा दाहालमाथि डिसिप्लिनरी एक्सन लिइएको भन्दै गत १२ पुस देखि लागू हुने गरी एक महिनाका लागि निलम्बन गरेको सूचना प्रकाशित गरेको थियो ।

केएमसीको सो निर्णय विरुद्ध काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनले निलम्बन गर्ने निर्णय स्थगन गर्न निर्देशन दिएको थियो ।

केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठले भने कलेजको आन्तरिक मामिलामा डिन अफिस लागेको भन्दै उनले काटेको निर्देशनात्मक पत्र डस्टविनमा फ्याकिदिने बताएका थिए ।

यसैबीच केयुका डीन प्राडा मनोज हुमागाँई र केएमसीका अध्यक्ष डा सुनील शर्माबीच यसविषयमा चर्काचर्की भएको छ ।

सांसद समेत रहेका केएमसी अध्यक्ष शर्माले डा दाहाललाई आफ्नो कलेजमा पढाउन नसक्ने बताएका छन् । यता हुमागाईँले भने त्यसो गरेको खण्डमा केएमसीले आगामी सेसनमा पीजी सिट प्राप्त नगर्ने चेतावनी दिएका छन् ।

केएमसीका प्रिन्सिपल डा श्रेष्ठले विवादको विषयमा अध्यक्ष र डीनबीच बुधबार छलफल भएको बताउँदै डा. दाहाललाई  आफूहरुले नपढाउने र केयुको जिम्मा लगाइदिने बताए ।

‘हामीले भनेको नमान्ने विद्यार्थीलाई कार्वाही त गर्नै पर्छ । तर कार्वाही नगर विद्यार्थीले भनेको मान भनेर केयुले भन्छ भने हामीले यस्ता विद्यार्थीलाई हामी पढाउन सक्दैनौँ तिमी नै पढाउ भनेर जिम्मा लगाईदिने हो । डा विशदको विषयमा हामी सोही तयारीमा छौँ । डीनले हामीलाई त्यसो गरिएको खण्डमा पीजीका आगामी सिट पाउदैनौँ भन्नु भएको छ । त्यसमा पनि हामीले ओके भनेका छौँ । हामीमाथि जे दवाव दिए पनि डिसिप्लिनमा कम्प्रमाइज हुँदैन । यो कलेजको आन्तरिक मामिला हो । नीति हो,’ प्रिन्सिपल श्रेष्ठले भने ।

डा. दाहालले भने आफ्नो पढाईलाई नै ह्याम्पर पर्ने गरी दिनहुँ शिविर राख्ने गरेको र विद्यार्थीमाथि दवाव सिर्जना गरेर काम गराउने गरेको भन्दै आफूले त्यसको विरोध गरेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *