३० हजार तलवको लोभ देखाई लगियो कलकत्ता, झुक्याएर बेचियो मिर्गौला
मिर्गौला तस्करी गरेको आरोपपछि फरार रहेका दर्जी पक्राउ
काठमाडौँ, १८ पुस । मानव अंग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका हरी नेपाली भन्ने हरी दर्जी पक्राउ परेका छन्। नुवाकोट बेलकोटगढी नगरपालिका–१३ ठेगाना भएका ४३ वर्षीय दर्जीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनीमाथि पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ता पुर्याई पीडितलाई झुक्याई अस्पताल लगि बेहोस पारी मानव अंग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको घटनामा संलग्न रहेको आरोप छ।
दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कलकत्ता लगेर कसरी बेचियो मिर्गौला ?
विसं २०७८ बैशाख तिरको एक दिन ।
अभियुक्तहरुले गाउँघरमा बिहे ब्रतबन्धमा बाजा बजाउन जान्ने एक जनालाई बाजा बजाउने बहानामा आफ्नो गाउँमा बोलाएका थिए । सो भेटघाटको क्रममा अर्का अभियुक्त मुरली दमाई समेतले एक जना मानिसलाई मिर्गौला चाहिएको छ , राम्रो पैसा दिन्छ, मैले पनि एउटा मिर्गौला बेचेको छु भनेर आफ्नो पुरानो खत देखाई प्रलोभनमा पार्न खोजेको थियो । तर पीडितले मिर्गौला बेच्ने कुरामा असहमति जनाए ।
त्यसपछि अभियुक्तले अर्को उपाय लगाए । पीडितलाई कलकत्तामा म:म पसलमा काम गर्ने मान्छे चाहिएको र मासिक ३० हजार रुपैयाँ तलव दिने भनेर लोभ्याए । यसपटक भने पिडीतले हुन्छ भने र अभियुक्तहरुले काकरभिट्टा हुँदै कलकत्ता पुर्याए ।
कलकत्ता पुरयाएपछि मिर्गौला प्रत्यारोपण गर्नु पर्ने व्यक्तिलाई अभियुक्त हरि दर्जीले होटलको साहु हो भनेर चिनजान गराईदिए । त्यस लगत्तै साहुँ भनेकोले समेत पीडितलाई झुक्याएर अस्पताल लगी बेहोस बनाई अर्कै व्यक्तिकोमा मिर्गौला प्रत्यारोपण गरिदिए । पीडितलाई त्यसपछि ६ लाख रुपैयाँ दिए । उनीहरुले पैसा दिएपछि भने आफ्नो मिर्गौला बेचिएको महसुस भएको पिडीतले बताएका छन् ।
त्यसपछि उनले सो कार्यमा लागेका अभियुक्तहरु बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत बिरुद्धमा मानव बेचबिखन व्युरोमा जाहेरी दिएका थिए । उनीहरु २०७९ भदौ १७ गते देखि नै पूर्पक्षका लागि काराकारमा रहेका छन् ।
हाल पक्राउ परेका हरि दर्जी भने २०६५ सालमा समेत मानव बेचबिखत मुद्धामा १० बर्ष सजाय भुक्तान गरी छुटेका व्यक्ति भएको व्युरोका प्रबक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।
सम्पर्क इमेल : [email protected]