वीर अस्पतालमा अब अत्याधुनिक मेसिनद्धारा स्तन क्यान्सर स्क्रिनिङ
काठमाडौँ, १७ पुस । वीर अस्पतालले स्तन क्यान्सर स्क्रिनिङका लागि अत्याधुनिक मेसिन डिजिटल ब्रेस्ट टोमोसेन्थेसिस (डीबीटी) सञ्चालनमा ल्याएको छ । म्यामोग्राफी गर्नका लागि ल्याइएको यो थ्रिडि मेसिनले सामान्य त ४० बर्ष माथिका महिलाहरुको स्तन जाँच गरिन्छ ।
‘विशेषज्ञ चिकित्सकहरुले जाँच पछि केही लक्षण देखेमा म्यामोग्राफी गर्नु पर्ने हुन्छ वा आफू ढुक्क हुनका लागि ४० बर्ष पछि यो बर्षमा एक पटक गरे पनि हुन्छ । त्यसका लागि हामीले डीबीटी सञ्चालनमा ल्याएका छौँ । यसले स्तनको अवस्था त थाहा दिन्छ नै लक्षण भएकाहरुको सजिलोसंग बायोप्सी समेत गर्न मिल्छ,’ वीरका निर्देशक डा. सन्तोष पौडेलले भने ।
उनले वीरमा आएको यो अत्याधुनिक र नविनतम मेसिन भएको भन्दै यसबाट आम सर्वसाधारण महिलाहरुको लागि परीक्षणका लागि ठूलो राहत पुग्ने बताए ।
वीरले यो मेसिनबाट म्यामोग्राफी गर्नका लागि दुई हजार रुपैयाँ शुल्क तोकेको छ । बायोप्सी गर्नु परेमा थप शुल्क लाग्छ ।
वीर अस्पतालका सिनियर कन्सलट्यान्ट रेडियसन अंकोलोजिष्ट डा सन्ध्या चापागाईँले नेपालमा स्तन क्यान्सर बढी रहेको सन्दर्भमा वीर अस्पतालले म्यामोग्राफी सेवा सञ्चालनमा ल्याउनु सुखद कुरा भएको बताईन् । उनले ४० बर्ष माथिका महिलाहरुले कम्तिमा बर्षको एक पटक ब्रेस्ट्र स्क्रिनिङ गर्न सल्लाह दिईन् ।
‘नेपालमा महिलाहरुमा देखि क्यान्सरहरुमा पहिलो पाठेघरको मुखको क्यान्सर र दोस्रो स्तन क्यान्सर थियो तर अहिले स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सरसंगै बरावरको अवस्थामा पुगेको देखिन्छ । क्यान्सर सुरुवाती अवस्थामा पत्ता लागेमा पूर्ण निको हुनसक्छ । यसैले उमेर बढ्दै जाँदा ब्रेस्ट स्क्रिनिङ महत्वपूर्ण हो । तर कति बर्ष पछि स्क्रिनिङ गर्ने भन्ने विषयमा नेपालले मापदण्ड बनाएको छैन । हामीले विदेशी मापदण्डलाई टेकेर ४० बर्ष पछि म्यामोग्राफी गर्न सुझाव दिन्छौँ,’ उनले भनिन् ।
वीरले यसै महिना देखि क्यान्सर बिरामीका लागि टोमोथेरापी सेवा समेत सुरु गरेको छ ।
सम्पर्क इमेल : [email protected]
good initiative