सुविधा थैलीको औषधि र सेवाको मूल्यको पुनराबलोकन गर्दै स्वास्थ्य बीमा बोर्ड

दुई जना बोर्ड सदस्यलाई दिईयो विशेष जिम्मेवारी

काठमाडौँ, १५ पुस । स्वास्थ्य बीमा बोर्डले हाल स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनराबलोकन गर्ने कार्यलाई अघि बढाएको छ । सुविधा थैलीमा भएको औषधिको मूल्य तथा सेवाका सन्दर्भमा हरेक तीन तीन वर्षमा मूल्य समायोजन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।

बोर्ड अध्यक्षमा डा गुणराज लोहनी आएपछि २७ मंसिरमा बसेको पहिलो बैठकले नै स्वास्थ्य बीमा सुविधा थैली अन्तरगतको औषधिको शुल्क समयानुकुल समायोजन गर्न एक समिति बनाई एक महिना भित्र प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरेको थियो ।

गत शुक्रबार बसेको बैठकले अघिल्लो निर्णय अनुसार भइरहेको सुविधा थैलीमा औषधि र सेवाको मूल्यको पुनारावलोक कार्यलाई सहजिकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै अहिले सञ्चालनमा रहेको स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउन अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य डा मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै स्वास्थ्य बीमा बोर्डका करार सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा सम्वन्धी कार्यविधि २०८० लाई अध्ययन् गरी अर्को बैठकमा पेश गर्ने समेत निर्णय गरेको छ ।

दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन
बोर्डको गत शुक्रबार बसेको बैठकले दर्ता सहयोगी र दर्ता अधिकारीलाई दुई बुँदे निर्देशन दिएको छ ।

बैठकले स्वास्थ्य बीमा दर्ता प्रयोजनको लागि लिईने योगदान रकम स्वास्थ्य बीमा बोर्डको बैंक खातामा दाखिला गर्ने विषयमा बीमितको विवरण बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्नु भन्दा पहिला सो वापतको योगदान रकम बैंक दाखिला गरी भौचर प्राप्त गरेपछि मात्रै गर्न भनेको छ ।

यस्तै बीमितबाट प्राप्त योगदान रकम तुरुन्त स्वास्थ्य बीमा बोर्डको तोकिएको बैक खातामा दाखिला गर्नु पर्नेछ भन्ने कानुनी प्रावधान रहेकोमा भौगोलिक दुर्गमताको कारणले समयमा स्वास्थ्य बीमा बोर्डको खातामा दाखिला गर्न नसक्ने अवस्थामा क्यास इन ह्याण्ड ५० हजार रुपैयाँ वा दुई हप्ताको समय सिमा जुन पहिले हुन्छ त्यस भित्र बैंक दाखिला गरिसक्न निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *