भारतमा १२० वटा आईभीएफ केन्द्र सञ्चालन गरेको इन्दिरा आईभीएफको पहिलो अन्तर्राष्ट्रिय शाखा नेपालमा

काठमाडौँ, १५ पुस । भारतको इन्दिरा आईभीएफले नेपालमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौँको पानीपोखरीमा सञ्चालनमा आएको इन्दिरा आईभीएफ नेपाल केन्द्रको शनिबार अभिनेत्री प्रियंका कार्की र इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले संयुक्त रुपमा उदघाटन गरे ।

‘आइभीएफ सेवाका लागि नेपालबाट बर्षेनी सयौँको संख्यामा भारतमा रहेका इन्दिरा आईभीएफको विभिन्न शाखामा जाने गर्नुहुन्छ । अब त्यो झन्झटबाट मुक्त गर्नका लागि हामीले देशबाहिर नेपालमा पहिलो शाखा खोलेका छौँ,’ डा. मुर्दियाले भने ।

सन् २०११ मा भारत राजस्थानको उदयपुरमा पहिलो पटक खुलेको इन्दिरा आईभीएफको अहिले देशभर १२० वटा केन्द्र सञ्चालनमा छ । जसबाट प्रत्येक वर्ष ४० हजार बढी आईभीएफ सेवाहरु उपलव्ध हुने डा मुर्दियाले बताए । उनले आफ्नो केन्द्रमा आएका मध्ये ७५ प्रतिशत सफलता प्राप्त गरेको दावी गरे ।

इन्दिरा आईभीएफ नेपाल केन्द्रका सञ्चालक उमेश अग्रवालले नेपालबाट इन्दिरा आईभीएफमा सेवा लिन भन्दै बर्षेनी सयौँ दम्पत्ती भारत जाने गरेको परिप्रेक्ष्यमा सोही सेवा नेपालमै उपलव्ध गराउने गरी त्यसको शाखा केन्द्र आफूले भित्र्याएको बताए ।

‘नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको हो। तथ्यांक र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ । सन् २०२३ मा यो दर प्रति महिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८ प्रतिशले कमी हो । यस क्षेत्रमा जकडिएर रहेको बाँझोपनको चुनौती सामना गर्न हामीले नेपालमा इन्दिरा आईभीएफ केन्द्र सञ्चालनमा ल्याएका हौँ,’ इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख डा नेहा हुमागाईँले भनिन् ।

उनले आफ्नो केन्द्रले अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिको प्रयोगबाट न्युनतम शुल्कमा गुणस्तरीय सेवा दिने ठोकुवा गरिन् । उनले आफ्नो केन्द्रमा सेवा लिन आउने उनले सुरुका २०० सेवाग्राहीलाई विशेष सहुलियत प्रदान हुने समेत जानकारी दिईन् ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले सन्तानको महत्व आफू आमा भइसकेपछि बुझेको भन्दै निसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तीको सम्भव बनाउनको खोलिएको केन्द्रको उदघाटन गर्न पाउँदा खुशी लागेको बताईन् । उनले आईभीएफका बारेमा सचेतना जगाउन समेत जरुरी रहेको बताईन ।

कार्यक्रममा उद्यमी डा उपेन्द्र महतो, नेपाल मेडिकल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की, स्त्री रोग विशेषज्ञ प्राडा जागेश्वर गौतम लगायतले नेपालमा सेवा प्रदान गर्न आएकोमा खुशी व्यक्त गर्दै सफलताको कामना गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *