अब कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने देखि व्यक्तिगत मोवाईल प्रयोग गर्न नहुनेसम्म
काठमाडौँ, १४ पुस । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न भन्दै कर्मचारीहरु माथि कडा आचार संहिता जारी गरेको छ । बोर्डको शुक्रबार (हिजो) बसेको बैठकले बोर्डका पदाधिकारी तथा कर्मचारीमाथि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।
बोर्डले गरेको निर्णय अनुसार बोर्ड तथा जिल्लास्थित कार्यालयका कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् । यस्तै दावी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा व्यक्तिगत मोवाइल फोन प्रयोग नहुने भएको छ ।
बोर्डले गरेको अर्को निर्णयमा स्वास्थ्य बीमा बोर्ड र कार्याक्रमको विषयमा धारणा राख्नु पहिले सो विषय सम्वन्धीय पदाधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
यस्तै विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न नहुने भनिएको छ ।
यसैगरी आचार संहितामा सामाजिक सञ्जालमा सबै तहका सरकारको आलोचना गर्न राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरत्साहन गर्ने तथा राष्ट्रहित विपरितको कुनै टिप्पणी वा लाइक गर्न नपाइने उल्लेख छ ।
यस्तै औपचारिक बैठकहरु निर्धारित समयमै सुरु गर्ने र अन्त्य गर्ने, औपचारिक कार्यक्रममा उदघाटन र समापनको समयसिमा आधा घण्टाको हुने, बैठकको समय एक घण्टा कायम गर्ने पनि आचार संहितामा उल्लेछ छ ।
यसैगरी जुनसुकै फाइल बारेमा तीन दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने विषय कारण सहित बीमा बोर्ड अध्यक्ष र सदस्यहरुलाई सूचना गर्ने र आचार संहिता पालना भए नभएको अनुगमनको व्यवस्था विमा बोर्डले गर्ने भनिएको छ ।
बोर्ड अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित रुपमा अगाडी बढाउन आचार संहिता तयार गरी लागू गरिएको बताए ।
वीमा बोर्डमा डा लोहनीले नेतृत्व गरेसंगै बोर्डका गतिविधिहरुमा केही नयाँ पन देखिन थालेको छ । यद्धपी सबै बीमितहरुले सबै ठाउँमा सहज सेवा पाउन भने सकेका छैनन् ।
बोर्डले यस बारेमा पनि छिटै केही निर्णय गर्ने डा लोहनीले संकेत गरेका छन् । उनले आवश्यकताको आधारमा नयाँ सेवा प्रदायक अस्पतालहरु थप्न सकिने समेत बताएका छन् ।
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदा कार्यकारी निर्देशक बनेका डा लोहनी बीमा बुझेका व्यक्ति हुन् । उनको पालामा स्वास्थ्य बीमा कार्यक्रमले थप गति लिने अपेक्षा गरिएको छ ।
सम्पर्क इमेल : [email protected]