कानुन उलंघ्न गर्दै मदिराको विज्ञापनमा देखिए कलाकार केकी अधिकारी र प्रदीप खड्का
तिर्न पर्न सक्छ १० हजार रुपैयाँ जरिवाना
काठमाडौँ, १२ पुस । नेपाली फिल्मका उत्कृष्ठ कलाकार भनिएका केकी अधिकारी र प्रदीप खड्काले कानुन विपरितका कार्यमा लागेका छन । उनीहरुले हालै जनस्वास्थ्यका लागि हानिकारक मानिएको मदिराको विज्ञापन गरेका छन् ।
उनीहरुले फेसबुक पेजमार्फत् एक मदिराको ब्रान्डको विज्ञापन गरेका हुन्।
आफूलाई उक्त मदिराको ब्राण्ड एम्बेस्डर बताएका दुबै कलाकारले उत्कृष्ठ भन्दै टेष्ट गर्न अपिल गरेका छन् । केकी अधिकारी विज्ञापनमा भन्छिन्, ‘यो उत्कृषट छ भन्ने मलाई विश्वास छ। तपाईंहरुले टेस्ट गर्नुभएको छैन भने छिटै टेस्ट गर्नुहोस्, यसबारेमा कुरा गर्न तपाईँहरुको शहर आउँदै छु ।’
त्यसको बढाइचढाइ गर्दै अर्का ‘ब्रान्ड एम्बेस्डरु खड्काले ‘कुलीन र सम्भ्रान्त’ भनेको हामी नेपाली हौँ भन्दै त्यसलाई मदिरासंग जोडेका छन् । उनले आफूलाई उक्त मदिरा ‘उत्कृष्ट’ भएको विश्वास रहेको बताउँदै अरुलाई पिउन सिफारिस गरेका छन्।
जनस्वास्थ्य सेवा ऐन २०७५ ले स्वास्थ्यका लागि हानिकारक रहेको मदिरालगायत स्वास्थ्यका लागि प्रतिकुल वस्तुको प्रचार सामाग्री उत्पादन, वितरण र प्रचार तथा प्रसारणमा रोक लगाएको छ।
जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको हो। जहाँ भनिएको छ, ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।’
यसैगरी उपदफा २ मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवा तर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने प्रस्ट रुपमा उल्लेख गरिएको छ। उक्त ऐन विपरित कार्य गरेमा १० हजारसम्म जरिवाना गरिने दफा ५३ को ‘घ’ ले स्पष्ट बताएको छ ।
सम्पर्क इमेल : [email protected]