‘हिमालय इन्टरनेशनल भास्कुलर समिट- २०२४’ आगामी माघको पहिलो साता
प्रत्यक्ष सहभागिताका लागि ५० बढी देशबाट विज्ञ चिकित्सक नेपाल आउने
काठमाडौँ, ११ पुस । आउँदो माघको पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय स्तरको भास्कुलर सम्मेलन हुँदैछ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा हुने सम्मेलनको नाम ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ दिईएको छ ।
तीन दिने यो सम्मेलन आगामी ४ देखि ६ माघमा काठमाडौँमा हुँदैछ ।
सम्मेलनमा ५० भन्दा बढी देशबाट भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु प्रत्यक्ष सहभागी हुनेछन भने भर्च्युअल्ली समेत गरी १०० बढी देशका सहभागी हुने आयोजकले जनाएको छ ।
सम्मेलन आयोजक समितिका संयोजक एवं बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरु हुने बताए ।
उनले यो सम्मेलन भास्कुलर सम्वन्धी दक्षिण एसियाकै सबैभन्दा ठूलो सम्मेलन हुने दावी गरे । यसमा स्वदेश तथा विदेशका गरी ५०० बढी प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।
डा. पाण्डेका अनुसार नेपाल अहिलेसम्म भास्कुलर सम्वन्धी यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको छैन ।
‘हामीले पहिलो पटक यो सम्मेलन गर्न लागेका हौँ । तर यो सम्मेलन दक्षिण एसियामै ठूलो हुने भयो । यो सम्मेलनमा सहभागि हुनका लागि अहिलेसम्म ४० बढी देशका १०० बढी विज्ञ चिकित्सकहरुले काठमाडौँ आउने निश्चित गरिसक्नु भएको छ, हाम्रो अनुमान ५० भन्दा बढी देशबाट १५० बढी विदेशीहरु चिकित्सकहरु आउनु हुन्छ भन्ने हो,’ उनले भने ।
डा. पाण्डेले सम्मेलनमा भास्कुलरका बारेमा भएका नयाँ-नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा प्रस्तुतिकरण तथा छलफल हुने बताए । उनले यसबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रलाई विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने बताए ।
डा. पाण्डेले विश्वबाट ख्यातिप्राप्त व्यक्तिहरु सहभागी हुने यस सम्मेलनमा नेपालका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता हुने बताए ।
‘यो कार्यक्रममा वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष मात्रै होइन, भारत बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु पनि यो कार्यक्रममा प्रत्यक्ष सहभागी हुन काठमाडौँ आउने पक्का भइसकेको छ । यस्तै नेपालबाट पनि ख्यातिप्राप्त विज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ,’ उनले भने ।
उनले तीन दिने सम्मेलनमा भास्कुलर सम्वन्धी नविनतम ज्ञान, अनुसन्धानका साथै अनुभव आदान प्रदान, अन्तरक्रिया तथा कार्यशाला हुने बताए ।
‘नेपालमा ५० औँ देशबाट यति ठूलो संख्यामा विश्व चर्चित चिकित्सकहरुको सहभागिता हुने, संसारले हेर्ने यो सम्मेलन साच्चिकै ऐतिहाँसिक छ । यो सम्मेलनले नेपालको चिकित्सा क्षेत्रका लागि ठूलो योगदान त दिन्छ नै विश्वमाझ नेपाललाई अझ् गहिरो गरी चिनाउन मद्धत मिल्छ,’ डा. पाण्डेले भने ।
नेपाल आउनेहरुले आफ्नै खर्चमा आउने भएकोले पनि आर्थिक रुपमा पनि नेपाललाई फाइदा हुने बताइएको छ ।
‘यो नेपाली चिकित्सक र यस क्षेत्रमा लाग्दै गरेका विद्यार्थीहरुका लागि पनि सुवर्ण मौका हुनसक्छ । यसैले नेपाली चिकित्सक, चिकित्सा क्षेत्रका विद्यार्थीहरुले सहभागिता जनाउनु उपयुक्त हुन्छ,’ डा. पाण्डेले भने, ‘इच्छुकहरुका लागि अहिले पनि रजिष्ट्रेशन खुल्ला राखेका छौँ ।’
तीन दिने सम्मेलनको पहिलो र दोस्रो दिन होटल हिमालय कुपन्डोलमा हुने छ । तेस्रो दिनको कार्यक्रम क्लव हिमालय नगरकोटमा हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]