आर्थ्रोस्कोपी सर्जरी पछि के गर्ने ? निर्देशिका बनाउन एसोन र नेप्टाबीच सम्झौँता
काठमाडौँ, १० पुस । आर्थ्रोस्कोपी उपचार (दुरबीनको सहायताले हाडजोर्नीको शल्यक्रिया गर्नु) पछि बिरामीलाई पहिलेकै अवस्थामा फर्काउन अब एकै खालको थेरापी अवलम्बन हुने भएको छ ।
आर्थ्रोस्कोपी शल्यक्रियापछि बिरामीका लागि आवश्यक फिजियोथेरापी तथा अन्य उपचारमा एकै खालको निर्देशिका बनाउन लागिएको छ ।
यसबारे निर्देशिका बनाउनका लागि सोमबार आर्थ्रोस्कोपी सोसाइटी अफ नेपाल (एसोन) र नेपाल फिजियोथेरापी संघ (नेप्टा) बीच सम्झौता भएको छ ।
आर्थ्रोस्कोपी सोसाइटी नेपालका पदाधिकारी र नेपाल फिजियोथेरापी संघका पदाधिकारीले ललितपुरमा आयोजित एक समारोहका बीच सम्झौता गरेका हुन्।
यो प्रोटोकलले यो उपचारमा संलग्न तीन पक्ष सर्जन, फिजियोथेरापिस्ट र बिरामीलाई पक्षलाई सहज हुने आर्थ्रोस्कोपी सोसाइटी अफ नेपालका अध्यक्ष प्राडा अमित जोशीले बताए ।
डा. जोशीका अनुसार आर्थ्रोस्कोपी भनेको विशेष किसमको अप्रेसन हो । जसमा दुरबिनको माध्यमले जोर्नीहरुको शल्यक्रिया गरी समस्याको निदान गरिन्छ ।
यो उपचारमा सर्जरी बाहेक अरु तीन पक्षको उत्तिकै भूमिका रहने भन्दै त्यसका लागि निर्देशिका बनाउन खोजिएको बताए । उनी भन्छन्, पहिलो अप्रेसन गर्ने सर्जनको भूमिका भइहाल्यो’ दोस्रो फिजियोथेरापिस्टको उत्तिकै भूमिका हुन्छ र तेस्रो तर धेरैलाई थाहा नभएको कुरा रोग निको हुन बिरामी आफैँको पनि ठूलो भूमिका हुन्छ ।’
यी तीनै पक्षको एउटै बुझाइ हुने निर्देशिका बनाउने तयारी गरेको डा. जोशीले जानकारी दिए । यस खालको संयुक्त निर्देशिका अहिलेसम्म नभएको समेत उनले बताए ।
‘कुनै फिल्डमा पनि यसरी बनाइएको छैन । यस्तो पुनर्स्थापना प्रोटोकल बनाउने, सर्जन साचै हरेक तहका फिजियोथेरापिस्टले बुझेर उपचार गर्न सक्ने र बिरामीले पनि सजिलै बुझेर शारीरिक अभ्यास गर्न सक्ने बनाउँछौँ’ डा. जोशीले सुनाए ।
बिरामीले पढेर वा चित्र हेरेरै पनि कुन खालको शारीरिक अभ्यास गर्ने भन्ने कुरा बुझिने गरी प्रोटोकल बन्ने उनको भनाई छ ।
उनका अनुसार ७ वटा विभिन्न विषयमा प्रोटोकल बन्नेछ । यसका लागि ७ वटा टिम बनाइएको छ । यसमा आर्थ्रोस्कोपी सर्जन, फिजियोथेरापिस्ट सहभागी हुनुहुन्छ । टिमले २–३ महिनामा अध्ययन गरेर संसारभरि कस्ता–कस्ता प्रोटोकल प्रयोग भइरहेको छ। त्यसका राम्रा–नराम्रा पक्ष के छन् ? नेपालमा त्यसलाई प्रयोग गर्न सजिलो, अप्ठ्यारो के छ ? अध्ययन गरेर प्रस्तुती राख्छन् । त्यसपछि प्रोटोकल बन्छ ।
फिजियोथेरापीको इतिहासमा पहिलो पटक यो खालको प्रोटोकल बनाउन लागिएको नेपाल फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।
यो प्रोटोकल निर्माणका लागि लागि पहल गरेकोमा उनले आर्थ्रोस्कोपी सोसाइटी अफ नेपाललाई धन्यवाद दिए ।
‘अहिलेसम्म यस्तो खालको प्रोटोकल बन्नुपर्छ भनिएको थियो । सुरु भएको थिएन । आजैका मितिबाट औपचारिक सुरुवात गरेका छौँ ।’ अधिकारीले भने ।
यो प्रोटोकलले आर्थ्रोस्कोपी उपचारपछि बिरामीको पुनर्स्थापनामा गाउँ, शहर तथा देशका कुना कन्दरामा एकै खालको उपचार पद्धति अपनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको विश्वास छ ।
फिजियोथेरापी गर्दा पहिलो हस्तामा के गर्ने, दोस्रोमा के गर्ने, ६ महिनामा के गर्ने, ९ महिनामा के गर्ने भन्ने कुराको जानकारी फोटोसहित बनाएपछि बिरामीले पनि बुझ्ने र निकै सहज हुने अधिकारीको भनाइ छ।
‘यसरी एकैखालको उपचार पद्धति भएको खण्डमा बिरामील फाइदा लिन सक्छन् भन्ने महसुुस भएको छ र डाक्टरहरुले पनि महसुस गरेकाले यो सम्झौता सम्भव भएको हो।’ अधिकारीले भने ।
बिरामीको अप्रेसनपछि पहिलेकै अवस्थामा पुर्याउन फिजियोथेरापी मुख्य भूमिका हुने भएकाले प्रोटोकल बनाउने कुरामा सहमति भएको आर्थ्रोस्कोपी सोसाइटी अफ नेपालका महासचिव डा. विवेक बसुकला बताउँछन् ।
अहिले सबैले आफ्नै तरिकाबाट रोगलाई बुझ्ने र आ–आफ्नै तरिकाबाट पुनर्स्थापनालाई बुझ्दा समन्वयमा नभइरहेको उनबो भनाई छ ।
आर्थ्रोस्कोपी सर्जरी गरेपछि पुनर्स्थापनाका लागि सर्जन फिजियोथेरापिस्ट र बिरामीलाई पनि जागरुक गाउने गरी संयुक्त रुपमा गाइडलाइन्स बनाउने सहमति भएको नेपाल फिजियोथेरापी संघका महासचिव विनय कँडेलले बताए ।
आगामी ७ देखि १० महिनाभित्र यो प्रोटोकल तयार हुने जानकारी कँडेलले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]