क्षयरोग के हो ? नेपालगञ्जमा किन गरियो स्क्रिनिङ ?
क्षयरोग एउटा सरुवा रोग हो जसले मुख्य गरेर फोक्सोमा असर गर्छ । यो रोग फोक्सो बाहेक शरीरको अन्य अंगहरुमा पनि लाग्न सक्छ जस्तै मिर्गौला, हड्डी, मस्तिष्क, मेरुदण्ड आदि ।
दुई हप्ता भन्दा बढि समयसम्म खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, खाना रुची नहुनु, तौल घट्दै जानु, ज्वरो आउनु, थकाई महसुस हुनु आदि क्षयरोगका मुख्य लक्षणहरु हुन ।
क्षयरोगका किटाणु क्षयरोगीले खोक्दा, हाच्छु गर्दा, बोल्दा तथा जथाभावी थुक्दा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । अध्ययन अनुसार यदि एउटा क्षयरोगीलाई उपचार गरिएन भने त्यो क्षयरोगीले एक वर्षमा औषतमा १० देखि १५ जना नयाँ व्यक्तिहरुलाई आफ्नो रोग सार्न सक्छ ।
एचआईभी लागेको बिरामीको रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले यस्ता बिरामीलाई क्षयरोग लाग्ने सम्भावना अन्य रोग भन्दा धेरै हुन्छ ।
नेपालमा सन् २०२२ मा गरिएको एउटा अनुसन्धान अनुसार एचआईभी लागेका बिरामीहरु मध्ये ९.९ प्रतिशतलाई क्षयरोग लागेको देखाएको छ । त्यस्तै अर्को एउटा अध्ययन अनुसार मधुमेह रोग लागेका बिरामीहरुलाई क्षयरोग लाग्ने सम्भावना २ देखि ३ गुणा बढि देखाएको छ ।
यसरी क्षयरोग एउटा सरुवा रोग भएकोले र यदि एउटा क्षयरोगीलाई उपचार गरिएन भने त्यो क्षयरोगीले एक वर्षमा औषतमा १० देखि १५ जना नयाँ व्यक्तिहरुलाई आफ्नो रोग सार्न सक्छ ।
नेपालगञ्जमा किन गरियो स्क्रिनिङ ?
यसैबीच क्षयरोग मुक्त नेपाल बनाउने अभियानमा सहयोग पुगोस भनेर शहरी स्वास्थ्य केन्द्र २ नेपालगंजले शनिबार निशुल्क क्षयरोग स्क्रिनिङ कार्यक्रमको आयोजना गरेको छ । नेपालगंज उप–महानगरपालिका वडा नं. २ को वडा कार्यालयको आर्थिक सहयोग तथा शहरी स्वास्थ्य केन्द्र २ नेपालगंजको आयोजनामा भएको सो शिविरमा ४८ जना व्यक्तिहरुको खकार नमुना संकलन भयो ।
यो शिविरलाई सफल बनाउनको लागि भेरी अस्पतालका ल्याब टेक्निसियन गणेश थारु तथा शहरी स्वास्थ्य केन्द्र २ नेपालगंजका जनस्वास्थ्य निरीक्षक आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार र अ.न.मी. रिता शाहीले सेवा दिएका थिए । उक्त शिविरमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसार शहरी स्वास्थ्य केन्द्र २ नेपालगंजमा उपलब्ध निःशुल्क औषधि तथा परामर्श सेवा समेत प्रदान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]