नेपाल फर्मा एक्स्पोको नवौँ संस्करण चितवनमा हुने
काठमाडौँ, ६ पुस । औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२४’ आगामी २५ देखि २७ फागुनमा चितवनमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले हरेक दुई दुई वर्षमा आयोजना गर्ने यो एक्स्पो नवौँ संस्करण हो ।
एपोनले सन् २०२२ मा गरेको एक्स्पोको आठौँ संस्करण पनि चितवनमै गरेको थियो ।
एक्स्पोबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष महेश प्रधानले नेपालका औषधि उद्योगलाई अगाडी बढाउनका लागि समर्पित भएको बताए ।
नेपालमा औषधि उद्योगको दीगोपन र बृद्धिका लागि अगुवाई भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको एक्सोमा १५० बढी स्टल रहने बताइएको छ । जसमा नेपाल सहित भारत, सिंगापुर, बंगलादेशका कम्पनीहरुको बाहुल्यता रहने बताइएको छ ।
एक्स्पोका संयोजक रहेका एपोनका बरिष्ठ उपाध्यक्ष प्रभात रुंगाटाले औषधि क्षेत्रको ज्ञान आदानप्रदान, सहकार्यले यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने बताए । उनले सम्वन्धित सरोकारवाला, व्यवसायिकता, औषधि उत्पादन र निर्माण तथा प्रसोधन, औषधिमा प्रयोग हुने सामग्री प्याकेजिङ, मेसिनरी ल्याव, एनालिटिकल, ओइएम, आउटसोर्सिङ रहने बताए ।
एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा निश्चित भएको बताए ।
उनले एक्स्पोमा ३० हजार बढीको सहभागिता हुने अपेक्षा गरिएको समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]