स्वास्थ्य मन्त्री बस्नेत : जे बोल्छन् त्यो गर्दैनन्, जे गर्छन् त्यो बोल्दैनन्
मन्त्रालय हल्लाउँदा हल्लाउँदै आफै हल्लिन थालेका त होइनन् ?
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले हरेक जसो पत्रकार सम्मेलन, औपचारिक /अनौपचारिक कार्यक्रम देखि गफगाफकै क्रममा पनि ‘२२ वर्ष अघि स्वास्थ्य मन्त्रालयमा आएकोबाट कुरा सुरु गरेर ३ हजार ५२३ बेड निशुल्क गरेँ’ भन्न छुटाउँदैनन् ।
अनि लभगभ सबै भाषणमा सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई काठमाडौँमा बषौँ सम्म नि:शुल्क कोचिङ पढाएको, कोभिडका बेला सरकारले भन्दा पहिले अक्सिजन ग्याँस ल्याएर बाँढन् हिडेको कुरा आउँछ नै ।
अनि लगभग सबै भाषणमा दोहोरिने शव्दमा, १८ घण्टा काम, आफ्नो दिन चार्या, अर्गानिक खानपान देखि दैनिक एक घण्टा व्यायम सम्मका कुरा हुने गर्दछ ।
त्यस्तै उनका भाषणमा आफैले पालेको गाईको दुध /घ्यु खाने लगायतका विषय छुट्छ कि भनेर कसैले सोच्यो भने त्यो गलत हुन्छ ।
…………………………………………………………………..
खाइलाग्दो ज्यानका ‘ह्यान्सम’ मन्त्री झट्ट सुन्दा जोसिला पनि लाग्छन् । मन्त्रालय होस या बाहिर उनको अघि पछि लाग्नेको भिडभाड, मन्त्रालयमै रातीसम्म बसेर गरिने छलफल र भेटघाटले घरि घरि यिनी साच्चिकै राम्रो गर्दैछन् कि भन्ने नलाग्ने पनि होईन । तर सात महिनाको नतिजाले त्यो अनुमानलाई फिक्का बनाउँदै गएको छ ।
पछिल्लो समय उनको कार्यशैली ले त ‘उनी जे बोल्छन्, त्यो गर्दैनन् । जे गर्छन् त्यो बोल्दैनन्’ भन्ने भाष्य स्थापित गरिदिएको छ ।
……………………………………………………………………………
अहिले सुनिन थालेका खरीद – सरीदका कुरालाई एक छिन आँखा चिम्लिऔँ र उनी स्वास्थ्य मन्त्रीको पदवहाली पछि गरेको पहिलो सम्वोधनलाई सम्झौँ न ।
सम्झिनु भयो नि ?
कि तपाईँले पनि विर्षनु भयो ?
होइन, सम्झिनु भएको छ भने तपाईँलाई पनि थाहा छ, उनले पदवहाली पछि मन्त्रालयको हलमा कर्मचारीहरुलाई सम्वोधन गर्दा केही महत्वपूर्ण र आशा लाग्दा प्रतिवद्धता गरेका थिए ।
उनले त्यसबेला भनेका थिए, ‘यहाँ हरेक मन्त्री आएपछि सरुवा र काज मिलाउने भिड हुन्छ, मन्त्रीले सधै भरी त्यो काम गर्दा यस्तो भिड हुने गरेको हो । अब मैले यसलाई सुधारेर बर्षमा दुई पटक मात्रै यो काम गर्नेछु । त्यस बीचको अवधीमा कोही कुनै कर्मचारीलाई चलाईदैन् । ‘एक पटक असारमा र अर्को पुस तिर गरे त भैगो नि होइन ?’ भनेर समेत सोधेका थिए । उनको यो कुराले धेरै कर्मचारीहरु खुशी भएका थिए । ढुक्क देखिन्थे । तर व्यवहार व्यवहार हेरौँ त, आफ्नै पहिलो प्रतिवद्धतालाई आफै गिज्याई रहेका छन् ।
नियुक्ति भएको केही साता पछि उनले दिनहुँ गर्ने काममा सरुवा पहिलो नम्बरमा रहेको छ । ऐन कानूनलाई बाल मतलव, मिल्ने नमिल्ने एक मेसै सरुवा गर्दै आएका छन् ।
कर्मचारी संयन्त्रमा उनको यो कार्यले अशान्ति मात्रै ल्याएको छैन, सचिवालय तथा उनका नजिकका कतिपय व्यक्तिहरुलाई व्ल्याकमेलिङ गर्न सहज भएको छ ।
‘सचिवालय तथा मन्त्रीका मान्छे हौँ भन्दै तपाईँको कार्यालयको पैसा फलानो बैंकका सार्नु पर्यो । एफडीमा राख्नु पर्यो भन्ने देखि लिएर तपाईँले फलानोलाई यो शाखामा राखिदिनु पर्यो , फलाना फलाना मन्त्री ज्यूका मान्छे हुन् उनीहरुलाई जागिर वा अन्य व्यवस्थापन गरिदिनु पर्यो । नत्र…… फलानोको सरुवा भएको त थाहा भयो होलानी भन्ने खालको धम्की आउँछ । तर कानून अनुसार मिल्दैन । नमिल्ने कुरा हुँदेन भनेर बुझ्नु पर्यो नि,’ स्वास्थ्यका विभिन्न निकायका हाकिमहरुले यसै गरी गुनासो गर्न थालेका छन् ।
………………………………………………………………….
मन्त्री बस्नेतले पहिलो दिनकै भाषणमा विदेश भ्रमणलाई व्यवस्थित गर्ने प्रतिवद्धता बढो चर्को स्वरमा उचालेका थिए । तर उनको सात महिनाको अवधीमा को कहिले कसरी गई रहेको छ भन्ने कुरा अब थप भनिरहनु पर्ला र ? उनले त दुर्गम क्षेत्रका कर्मचारी पनि उत्तिकै हकदार हो भनेका थिए । तर त्यो देखिएको छ र ? एउटा अपुरो सूची मन्त्रालयकै वेव साइटमा पनि देख्न सकिन्छ ।
भ्रमण जानु पर्छ, उपल्लो निकायका व्यक्तिहरु बढी जानु पर्छ नै । अहिले भएको पनि त्यहि नै हो ।
तर, मन्त्रीले अहिले पनि भ्रमणलाई व्यवस्थित र समानताका आधारमा वितरण भएको छ भन्न छाडेका छैनन् । यसरी मान्छेलाई गुमराहमा नराखेको भए राम्रो हुन्थ्यो भन्न मात्रै खोजिएको हो । नभएको कामलाई भएको छ भनेर दावी गर्नु पनि एक किसिमको अपराध हो ।
…………………………………………………………
मन्त्रीले पहिलो दिन गरेको अर्को महत्वपूर्ण कुरा थियो सुर्तीजन्य पदार्थमा करको दर बृद्धि गर्छु । त्यसबाट बढ्ने रकमले जनताको स्वास्थ्य उपचारमा खर्च गर्न थप मद्धत मिल्छ भन्ने उनको भनाई थियो । उनले त्यसबारेमा के पहल गरे थाहा भएन तर नतिजा ठ्याक्कै उल्टा आयो । चालु आर्थिक बर्षको बजेटमा करको दर झण्डै ४ प्रतिशतले घटेर आयो ।
……………………………………..
मन्त्री बस्नेतले वीर अस्पतालबाट निशुल्क सैया उपलव्ध गराउने निर्णय गराए । सेवा पनि विहान ८ बजे देखि नै सुरु गराउन निर्देशन दिए । सेवाको परिमाण बढाउन भने । वीर अस्पताल प्रशासनले पनि सोही अनुसार काम गर्दै गयो । तर, आम्दानी खुम्च्याएर सेवा बढाउन लगाएका उनले पछि करारमा भएका जनशक्ति हटाउन निर्देशन दिए ।
केही साता भयंकर भएको वीर त्यसपछि सेवा खुम्च्याएर बस्न बाध्य छ ।
बरु उनले त्यहीबीच पुरानो करार भंग गरी करारमै नयाँ कर्मचारी राख्न निर्देशन दिए ।
अघिल्लो पटक वीरले लिएको विभिन्न सेवाका १३ जना प्राविधिक जनशक्तिमा मध्ये १० जना सिन्धुपाल्चोकको रहेको अस्पतालमा चर्चा हुन थालेको छ ।
……………………………………………………………
मन्त्री बस्नेतको पहिलो भाषणमा एउटा शब्द बढो गज्जबको थियो । म कामलाई प्राथमिकता दिन्छु, जसले राम्रो काम गर्यो त्यो मेरो मान्छे हो राजनीतिक आस्थाका आधारमा कसैलाई हेरिदैन ।
तर, उनको व्यवहार ठ्याक्कै उल्टा देखियो ।
कानूनी रुपमै नमिल्ने भए पनि विभिन्न चार्ज लगाएर हटाउने प्रयास गरिरहे ।
पछिल्लो पटक वीर अस्पतालको निर्देशक, त्यसअघि आयुर्वेद अस्पताल नरदेवीको निर्देशक, भक्तपुर अस्पतालको निर्देशक, स्वास्थ्य बीमा बोर्डका निर्देशक केही उदाहरण हुन् । यी मध्ये कोही अदालतको आदेशबाट पुर्नवहाली भए, कोही हुने क्रममा देखिन्छन् ।
उता आफ्नो पार्टी र समूह नजिकका व्यक्तिहरुलाई नछुटाईकन जिम्मेवारी दिदै आएका छन् ।
कतिपयले यसलाई आफ्नो टिम बनाएर काम गर्नका लागि मन्त्रीले यति काम गर्नु स्वभाविक हो पनि भन्ने नगरेका होइनन् । तर सबै कुरा मै जान्ने छु, पक्षपात रहित काम गरेको छु भनेर दावी गर्ने मन्त्रीको व्यवहार फरक छ है भन्न मात्रै खोजिएको हो ।
…………………………………………………………………….
सुरुका बेला दुई – दुई हप्तामा पत्रकार सम्मेलन गर्ने मन्त्री पछि पछि अलि अल्छि मान्दै गएको हो कि जस्तो देखिन थालेको छ । अर्को कुरा आफूले विगतमा गरेका प्रतिवद्धता र व्यवहारबीच अनमेल ठानेर आफै पन्छिन खोजि रहेका हुन कि भन्ने पनि देखिन्छ । सकारात्मक रुपमा सोच्दा कामको व्यस्तता र भन्ने कुरा खास नभएर हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
पछिल्लो पटक त झण्डै तीन महिनाको अन्तरालमा पत्रकार सम्मेलन गरे ।
सो क्रममा उनले महत्वपूर्ण घोषणा भनेर १०० बेड माथिका सबै सरकारी अस्पतालमा नर्सिङ सहितका विभिन्न कोर्ष र ३०० बेड माथिका अस्पतालमा एमबीबीएस पढाउने निर्णय गरेको बताए ।
उनले सोही अनुसार चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको पनि जानकारी दिए । यो साच्चिकै राम्रो कुरा थियो तर उनले त्यसबेला पढाईका लागि चाहिने फ्याकल्टीको लागि के तयारी छ भन्दा राम्ररी बताउन सकेनन् । तयारी त हुँदै जाला तर आर्थिक अभावले आवश्यक नर्स र डाक्टर कटौती गरेको सरकारले अध्ययन् अध्यापनका लागि यसैबर्ष पुन लगानी थप्ला त ? प्रश्न पेचिलो छ । यद्धपी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले समिति गठन गरी तयारीका लागि पहल गरेको उल्लेख गरेको छ ।
त्यहि बीचमा उनले ठूलो संख्यामा स्वास्थ्यको दरबन्दी पनि थपिने बताए । कुरा त बहुत राम्रो थियो । तर त्यसका लागि अर्थ, कानुन लगायतका मन्त्रालयसंग छलफल भयो त ? त्यसमा उनी मौन देखिए । अर्थात यसको पनि पुरा तयारी छैन । त्यतिवेलै कतिपय सञ्चारकर्मीले ‘स्टण्ट बाजी’ गरेको टिप्पणी गरेका थिए ।
दौडीरहने मन्त्री कहिले रोकिने हो ? कहिले काम गर्ने हो ?
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्री मण्डलमा सबैभन्दा दौड धुप गर्ने मन्त्री बस्नेत नै हुन् । उनी दौडेका दौडेई छन् । तर दौडिदा दौडिदा गर्नु पर्ने काम नै छुटि रहेका छन् । अब कहाँ पुगेर रोकिएपछि काम हुने होला ?,’ मन्त्रालयका एक अधिकारीले कटाक्ष गरे ।
‘हुन पनि आफ्नो गृह जिल्ला बाहेक पनि देशका पूर्व पश्चिम उत्तर दक्षिण नहिडेको र नपुगेको ठाउँ छैन । दौडेका दौडेई छन् तर के गर्न खोजेका छन् । यसरी घुमेर मात्रै के पाक्छ ? हुन्छ के ? अचम्म छ ? यसरी सस्तो लोकप्रियता बाहेक त केही हुनेवाला छैन् । मन्त्रीले त नीतिगत निर्णय गर्ने गराउने, प्रधानमन्त्री र अरु मन्त्रालयसंग नियमित समन्वयमा बस्ने र काम गर्ने हुनुपर्ने हो । १८ घण्टा भन्दै खटिने तर नतिजा सून्य भएर त त्यसको के अर्थ,’ मन्त्रालयकै एक अर्का कर्मचारीको टिप्पणी थियो ।
प्रधानमन्त्री दाहालका विश्वास पात्र हुन् ?
अहिलेसम्म हेर्दा स्वास्थ्य मन्त्री बस्नेत बर्तमान मन्त्रिमण्डलमै प्रधानमन्त्री प्रचण्डका विश्वास पात्र जस्तै देखिन्छन् । किनभने प्रधानमन्त्री प्रचण्ड मन्त्री बस्नेतले गरेका दुईवटा सामान्य कार्यक्रममा आए र समय दिएर उनको प्रशंसामा शव्द खर्च गरे ।
‘मन्त्रिपरिषद्को बैठकमा मन्त्री बस्नेत ज्यूको प्रस्ताव सुन्दा नै आङ जिरिङ्ग हुन्छ,’ भन्दै प्रचण्डले एक कार्यक्रममा उनेको खुव प्रशंसा समेत गरेका थिए ।
समाचारमा छाइरहने र हठ्ठी स्वभावले चर्चामा आइरहने बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवाको सबैभन्दा विश्वास पात्र मध्येका एक भएकोले पनि प्रचण्ड उनीप्रति विशेष लचक भएर प्रस्तुत भएको कतिपयको अनुमान छ । तर माओवादी स्रोतले पछिल्लो समय बस्नेतको कार्यशैली प्रति प्रधानमन्त्री खुशी नदेखिएको बताएको छ ।
मन्त्रालय हल्लाउँदा हल्लाउँदै आफै हल्लिने त होइनन ?
‘मन्त्री बस्नेतको जागिर धरापमा परेको हो र ?’ स्वास्थ्य मन्त्रालयमा भेट भएका देउवा निकट मानिने एक जना कांग्रेस नेतालाई सोध्दा उनले भने, ‘मलाई यस्तो त लाग्दैन तर असम्भव पनि केही छैन ।’
त्यसो त स्वास्थ्य मन्त्रीको शैलीबाट अहिले स्वास्थ्य मन्त्रालय पुरा हल्लिएको छ । सचिवहरु उनका अगाडी बोल्न डराउँछन् । अतिरिक्त सचिवहरु र महाशाखा प्रमुखहरुको के कुरा । सबै सधै हस हजुरमै चल्दै आएको देखिन्छ ।
‘कसलाई गाली खानु छ र विरोध गर्ने आँट गर्ने ? हस हजुर भन्यो फर्क्यो । मन्त्रीको पारा र कर्मचारीको हस हजुर शैलीले कतिपय नीतिगत निर्णयमा पनि मन्त्री चिप्लिन थालेका छन् । मै जान्ने, मै सुन्ने, २२ बर्ष अघि नै आएको म भन्दै अहमता देखाँउदा बेला बखतमा नराम्ररी फसेका छन् । यिनी जति नै जान्ने हु भने पनि ‘व्युरोक्क्रयाट्स’हरुले मज्जाले घुमाई दिएका छन् । पछिल्लो समय यिनका कार्यहरु झन् झन् आलोचित बन्न थालेको छ । सरकार र पार्टी भित्र पनि स्वास्थ्य मन्त्रीको विकल्प खोज्नु पर्छ भन्ने आवाज उठन थालेको छ । हेरौँ के हुन्छ ?’ उनको पार्टी निकटका एक जना बरिष्ठ चिकित्सकले टिप्पणी गरे ।
सम्पर्क इमेल : [email protected]