न्युनतम सेवा मापदण्डको मूल्यांकनमा:

बर्दिया अस्पताल : प्रदेशमा प्रथम, देश भरमा दोस्रो

बर्दिया, ४ पुस । अस्पतालको न्युनतम सेवा मापदण्डको मूल्यांकनमा बर्दिया जिल्ला अस्पताल ९६ अंकका साथ लुम्बिनी प्रदेश प्रथम भएको छ । देशभरका अस्पतालहरुमा भने बर्दिया दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको भक्तपुर अस्पतालले बर्दियाले भन्दा एक अंक बढी अर्थात ९७ अंकका साथ प्रथम स्थानमा रहेको छ ।

बर्दिया लुम्बिनीमा यसपटक मात्रै होइन गत वर्ष पनि प्रथम भएको थियो । त्यसबेला बर्दियाको ९५ अंक आएको थियो । तर देशभर भने त्यसबेला पनि एक अंक बढी ल्याएर त्रिशुली अस्पताल प्रथम भएको थियो । त्यसबेला त्रिशुलीको ९६ अंक आएको थियो ।

बर्दिया अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवास पाण्डे लगातार उत्कृष्ठ नतिजा आउनुमा व्यवस्थापकीय जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्नु र टीमवर्कका साथ अघि बढनुलाई प्रमुख कारक मान्दछन् । उनि भन्छन्, ‘बर्दिया देशको केन्द्रबाट टाढाको अस्पताल हो । तर हाम्रो सेवा र स्वतन्त्र मूल्यांकनमा आइरहेको नतिजाले चाहेमा पेरीफेरीका अस्पतालले पनि गरेरै देखाउन सक्छन भन्ने उदाहरण हामीले पस्किरहेका छौँ ।’

अस्पतालको मूल्यांकनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी अस्पताल नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ (एघारौँ तह) नेतृत्वमा स्वास्थ्य सेवा विभागका नरेन्द्र खनाल, र प्रदेश स्वास्थ्य निर्देशनालयका कौशल भण्डारीको टोली सोमबार देखि नै व्यस्त थियो । ‘सोमबार र मंगलबार (हिजो) मूल्यांकन भयो । हिजो नै नतिजा पनि आयो । हामी प्रदेशमा प्रथम भयौँ देशमा दोस्रो’ उनले भने ।

बर्दिया अस्पताल ५० बेडको सेकेण्डरी ए अस्पताल हो । दैनिक चल्ने ओपिडीमा ४७९ जना सम्म बिरामी आउने गरेका छन् । गत वर्ष मात्रै यो अस्पतालले १ लाख १७ हजारलाई सेवा दियो भने त्यसमा १० हजार बढीले इमरजेन्सी सेवा लिए ।

न्युनतम सेवा मापदण्ड (एमएसएस) मा मूल्यांकनमा व्यवस्थापन, क्लिनिकल र सर्भिस सपोर्टका आधारमा अंग दिईने गर्दछ ।

‘एमएसएसको कुल १०० पूर्णाङ्क मध्ये २० प्रतिशत गभरनेन्स एण्ड म्यानेजमेन्ट, ६० प्रतिशत क्लिनिकल म्यानेजमेन्ट, २० सपोर्ट सर्भिसको आधारमा हुनेछ । तोकिएको स्वास्थ्य सेवा दिन सकेको छ कि छेन, पूर्व तयारी के कस्तो छ ? सपोर्टको कुरा गर्दा अस्पतालमा सोलार व्यापक छ कि छैन, सरसफाई कस्तो छ ? सपोर्ट सर्भिसमा, फोहर मैला व्यवस्थापन, क्यान्टिन, सिसिटीभी लगायतका कुराहरु जसले अस्पतालको सेवालाई थप मद्धत गर्दछ । त्यसको आधारमा पनि अंक थपिदै जान्छ,’ डा. पाण्डेले भने ।


अहिले अस्पतालमा बेरुजु सून्य छ । खर्च ९७ प्रतिशत हुने गरेको छ ।

न्युनतम सेवा मापदण्डमा मात्रै होइन बर्दिया अस्पताल बार्षिक समीक्षामा पनि सधै प्रदेश प्रथम हुने गरेको छ । पछिल्लो चार वर्षलाई सम्झने हो भने  सम्पादित कार्यप्रगति मूल्यांकनको आधारमा बर्दिया अस्पताल तीन पटक प्रथम र एक पटक दोस्रो भएको छ ।

‘गत आर्थिक वर्ष २०७९/८०, आर्थिक वर्ष २०७७/७८ र २०७६ /०७७ मा प्रदेशमा प्रथम भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा दोस्रो  भयौँ,’ डा. पाण्डेले भने ।

पछिल्लो साढे छ वर्ष देखि बर्दिया अस्पतालको नेतृत्व सम्हालेका पाण्डेले निरन्तर सफलताको एउटा कारक स्थिर नेतृत्व पनि भएको बताए । उनले भने, ‘म यहाँ लामो समय रहँदा अस्पताल सुधारका लागि सहज रुपमा काम गरिरहन पाएको छु । यसले कामको निरन्तरता र उत्साह थप्ने गर्दो रहेछ,’ उनले अगाडी थपे, ला’मो समय अस्पतालमा रहँदा स साना कुरा पनि थाहा भएर सुधारका लागि प्रयास गर्न सकिदो रहेछ । हामी सहजताका साथ सफल भइरहेको एउटा कारण त्यो पनि हुनसक्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *