‘अस्पताल चलाउने निर्देशकले हो भन्ने कुरा सबैले बुझ्नु पर्यो’- डा. सन्तोष पौडेल (भिडियो)
काठमाडौँ, ३ पुस । सर्बोच्च अदालतको अन्तरिम आदेशपछि वीर अस्पतालको निर्देशक पदमा पुनर्वहाली भएका डा. सन्तोष पौडेलले अपरान्ह वीर अस्पतालमा पुगेर पदवहाली गरेका छन् । उनले सो क्रममा आफूलाई सर्बोच्चले न्याय दिएको बताएका छन् ।
उनले आफूले विधिको शासनलाई स्थापित गर्न सर्बोच्च गएको भन्दै यसलाई कायम गर्न सफल भएको समेत बताए । पदवहालीपछि वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्छिप्त रुपमा सम्वोधन गर्दै अस्पताल सुधारका लागि अब कडा रुपमा प्रस्तुत भएर लाग्ने बताए ।
उनले आफू अस्पताल सुधारको पक्षमा हुँदा हुँदै राजनीतिक प्रतिसोध साधिएको भन्दै यस विरुद्ध डटेर लड्ने समेत बताए । करीव १५ मिनेटको सम्वोधनमा उनले मन्त्रालय र सहकर्मीहरुको व्यवहार समेत चित्त बुझ्दो नभएको गुनासो पोखे ।
के भने डा. सन्तोषले ? हेरौँ र सुनौँ :
मेरो मान्यता सबैलाई समेटेर काम गर्ने बानी थियो, ताकि नतिजा पनि राम्रो आओस भनेर । हामी बाहिर कुन आस्थाका छौँ, तर यो संस्थामा छिरेपछि सबै वीरका कर्मचारी हो । हाम्रो उद्धेश्य भनेको वीरलाई कसरी राम्रो बनाउने र जनतालाई सहज रुपमा कसरी गुणस्तरीय सेवा उपलव्ध गराउने भन्ने हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले यसअघि त्यहि गर्दै आएको हुँ ।
लोकतन्त्रमा विधिको शासन हुन्छ, यसलाई कुल्चने छुट कसैलाई छैन । यहि कुरा स्थापित गर्न म सर्बोच्च गएको थिएँ । सर्बोच्चले न्याय दिएको छ । विधिको शासनमा बसेर काम गर्नु पर्छ भनेर सन्देश पनि दिएको छ ।
म फेरी आएँ । सहकार्यका लागि अब पनि हात फैलाएर नै अघि बढ्ने मेरो योजना हो । तर मैले मात्रै सहकार्यका लागि पहल गर्ने अरु खिच्रीमिच्री मात्रै गर्ने हो, हामी त राजनीति स्वार्थ पुरा गर्ने हो, तँ हामीसंग बाधक भइस भन्न थालियो भने त अब लडाईँ पेचिलो बन्ने वाला छ । त्यसका लागि म तयार नै भएर आएको छु ।
……………………………………………………………..
एउटा शान्त बिरालोलाई कोठा भित्र राख्दा केही छैन, जव त्यसलाई ढोका थुनेर जिस्काउनु हुन्छ त्यसले कोपर्यो वा चिथोर्यो वा अलि बढी दुख दियो भने अन्यथा लिनु भएन ।
यसपटक मलाई त्यस्तै गरियो । अब त्यो नहोस भन्ने अझ पनि मेरो चाहना छ ।
जिस्काएकै कारणले म त्यति निरास पनि भएको छैन । त्यसले मलाई झन् उर्जा दिएको छ ।
मैले धेरै समय साथीहरु संग मिलेर जाने भन्ने कुरा गलत हिसावले लिनु भएको रहेछ कि भन्ने पनि लागेको छ ।
वीरको हितका लागि काम गर्दा विपक्षमा उभिएका साथीहरुलाई सम्मानित सर्बोच्च अदालतले त देखाई सक्यो कानूनी रुपमा । यो देशमा लोकतन्त्र छ र विधिको शासन छ भन्ने कुरा प्रष्ट बनाई सक्यो । त्यसले हामीले नियम र कानूनलाई समातेर अगाडी बढ्नु पर्छ भन्ने हो ।
म यसअघि वीर अस्पतालमा नौ महिना नौँ दिन निर्देशक रहँदा सम्म साथीहरुले असाध्य ठूलो सहयोग पाएको थिएँ । आज पनि अधिकांश कर्मचारी, स्वास्थ्यकर्मी साथीहरु, चिकित्सक नर्स प्यारामेडिक्स सबै साथीहरुले ठूलो साथ सहयोग दिनु भएको छ । यसको लागि म जहिले पनि ऋणि नै छु ।
साथीहरले पेशागत अधिकारको कुरा भनिहाल्नु भयो । पाउनु पर्ने सेवा सुविधाको विषयमा अझै मुखरित गर्नु पर्ने विषयमा म निर्देशकको हिसावले म जहिले पनि संगै छु । अब अझै खारिएर तपाईँको पक्षमा हुनेछु ।
……………………………………………………………….
मलाई धेरै साथीहरुले मेरो लडाईँ जायज छ भन्नु भयो तर यहाँका पदाधिकारी साथीहरुले एउटा फोन सम्म गर्नु भएन । यत्रो बर्ष यत्रो महिना संगै सहकार्य गरेका साथीहरु कानूनी लडाईमा तपाईँले लिएको बाटो ठिक छ भन्ने विषयमा बोल्ने आट गर्नु भएन ।
यति डराउनु पर्थेन । यो त लोक तन्त्र हो नि । हामीले यसैका लागि लडेर ल्याएको लोकतन्त्र होईन ?
म निर्देशक भएर गलत गरेँ भने तपाईँहरुले निर्धक्क साथ औलो उठाउन पाउनु हुन्छ । तपाँईको यो काम ठिक भएन, यो निर्णय ठिक भएन भन्न पाउनु हुन्छ । यहि त हो लोकतन्त्र, यसैका लागि त हो लडेको । अहिले पनि जे गैरकानूनी काम भयो त्यसलाई सर्बोच्चले सच्याई दिएको छ र हामीलाई विगतका समीक्षा गरी अघि बढ्न निर्देशन दिएको छ ।
अस्पतालको प्रगति र यहाँका जनशक्तिको बृत्तिविकासका लागि र समग्र जनताको लागि वीर अस्पताल जो आसाको केन्द्र बनेको छ यसलाई अझ सुधार गर्नका लागि अझ धेरै सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने कुरामा अझ बढी लाग्ने छु ।
म त निर्देशकको रुपमा नौँ महिना बसी सकेको थिएँ । दुई चार महिना बढी वा कम मेरा लागि ठूलो कुरा थिएन । तर विधिको शासन स्थापित गर्नका लागि म सर्बोच्च गएँ र त्यहाँ सफल भएँ । यहाँ आज हौसला र खुशी साटन जसरी आउनु भएको छ । तपाईँहरु सबैको विजय हो ।
………………………………………………………………………
म चिकित्सा पेशा गर्ने अधिकार समेत खोसेर त मन्त्रालय हाजिर भ भनेर जुन खालको अपमान गरियो यसको सम्मान पनि हो आजको आदेश ।
पहिलो अपमान निर्देशकबाट हटाउन नमिल्ने ठाँउमा हटाइयो ।
दोस्रो अपमान मन्त्रालय हाजिर हुन भनियो ।
तेस्रो अपमान अब कार्वाही गरेपछि स्पष्टिकरण सोधेको छ ।
चौथो अपमान कान्ति बाल अस्पतालमा सरुवा गरेको छ ।
सडकमा लछार पछार गरेको जस्तै हो यो । गोली हानेर होइन सडकमा तड्पाई तड्पाई मार्न खोजिएको हो ।
यस्तो अत्याचार, स्वेच्छाचारी र अधिनायक कहि कतै हुँदैन । लोकतन्त्रमा जसरी अधिनायकवाद हावी भएको थियो सम्मानित सर्बोच्च अदालतले न्याय दिएको छ । फेरी पनि जो साथीहरुले कमजोरी जे गर्नु भयो उहाँहरुलाई सचिन आग्रह गर्दछु । किनभने यो लडाईँ लामो लडाई हुनेछ ।
अर्को कुरा यो डाक्टर सन्तोषको मात्रै होईन सम्पूर्ण पेशाकर्मीको जीत हो । पेशाकर्मीको अधिकार जव हनन हुन्छ हामी सबै एक भएर उठनु पर्छ ।
…………………………………………………
अहिले म निर्देशकको कुर्सीमा भए पनि चिकित्सक हुँ । कमसे कम ल डाक्टर सन्तोष तपाईँलाई निर्देशकबाट हटाउँदै छौँ सहयोग गरिदिनुहोस भनेको भए म छोडि हाल्दथेँ नि । म हाडजोर्नीको डाक्टरलाई प्राक्टिस गर्नै नदिने ? मन्त्रालय आइज भन्ने ? अनि फोनबाट धम्काउने ? किन आइनस भनेर ? यस्तो पनि लोकतन्त्र हुन्छ ? विधिको शासन हुन्छ ? सबेभन्दा पुरानो पार्टीेको नेता वा सो पार्टीको मन्त्रीले गरेको व्यवहार यस्तो हुन्छ ?
म फेरी पनि त्यहि कुरा रिपिट गर्न चाहेँ, तपाईँहरु साथै सबै जनताले थाहा पाउनु पर्छ यो पेशाकर्मी माथिको हमला हो । भोली म निर्देशकमा भए पनि नभए पनि तपाईँहरुसंगै हुन्छ । यो पेशागत लडाई पनि हो । साथीहरुको जायज मागका लागि डा सन्तोष पौडेल ठिकै छ लचिलो भएर रिजल्ट निस्कन्छ भन्ने थियो । अब एकदम कडा रुपमा तपाईँहरुको पक्षमा उभिन्छ । पद भनेको सेकेण्डरी हो । अब हामीले जो हिसावले पाठ सिकेका छौँ । अब झनै बलियो भएर अघि बढ्ने छौँ । अब भोलीबाटै काम आफ्नो रफ्तारमा अघि बढ्ने छौँ ।
मैले तपाईँहरुको सेवा सुविधाको बारेमा मंगलबार छलफल गर्ने भनेर जो टिपोट गरेको थिएँ, शुक्रबार नै मेरो चिठी आयो । त्यसैले रोकिएको थियो । अब त्यसलाई छिटैनै अघि बढाउने छु ।
…………………………………………………………….
वीरमा सप्लाईको बारेमा ठूलो समस्या छ । बाहिर मिडियामा ठूला ठूला स्टन्टहरु हुन्छन् । बार्षिक उत्सवकोबेलामा मैले भनेको भाषण अझ पनि स्पमरण गराउन चाहन्छु वीरलाई हामी नयाँ गति दिन खोजेकै छौँ तर त्यसलाई जनशक्ति र आर्थिक पाटो चाहि वीर एक्लैले गर्न सक्दैन, सरकारको पनि दायित्व हो भनेको थिएँ ।
हामी व्यवस्थापपक हो । व्यवस्थापकको हिसावले हामीले काम गर्दछौँ तर नीतिगत हिसावले बजेट र जनशक्तिको उपलव्धता सरकारले उपलव्ध गराउनु पर्छ भनेको थिएँ । आज पनि त्यहि फेजमा हामी आएका छौँ । धेरै महिना पछि अहिले पनि अवस्था त्यहि नै छ ।
हामी सबै मिलेर यो अवस्थालाई पार गर्न सक्छौँ । हाम्रो प्रधानमन्त्री प्रतिष्ठानको कुलपति पनि हो उहाँसंग बसेर यो समस्याका लागि बसेर अघि बढाउँछौँ ।
………………………………………………………………
अर्को कुरा अस्पताल अस्पताल निर्देशकले चलाउनु पर्छ भन्ने विषय अझै पेचिलो बनेको छ । किनभने पछिल्लो चरणमा यो अस्पताललाई मैले चलाउने हो भनेर रजिष्ट्रारले पनि लामो हात गर्ने, मैले चलाउने हो भनेर भिसिले पनि लामो हात गर्ने, हुँदा – हुँदा रेक्टर र अरु साथीहरु पनि हस्पिटलनै चलाउन खोज्ने । सबै साथीहरुले आ आफ्नो भूमिकामा बस्नु पर्यो। जसलाई हस्पिटल चलाउने जिम्मा दिएको छ त्यसलाई दिनु पर्छ ।
अस्पतालको रिपोटिङ त अस्पताल निर्देशकले गरि नै हाल्छ नि । रजिष्ट्रारलाई रिपोटिङ गर्ने काममा त गरिनै हाल्छ नि ।
यहाँ सबै साथीहरुलाई कुचा किन्न र पोछा किन्न इन्ट्रेस्ट छ । इन्ट्रेस्ट हुने साथीहरुलाई बसेर सल्लाह गरेर म जिम्मा नै लगाइदिउला । जिन्दगी भरी पोछा किन्ने मन छ भने पनि पोछा नै किनेर बस्नुहोला केही छैन । त्यो अधिकार म दिउला ।
होइन साच्चिकै हस्पिटल चलाउने हो भने निर्देशकले हस्पिटल चलाउछ । जस अवजस निर्देशकले नै लिन्छ । सहायक निर्देशक र अरु साथीहरु हुनुहुन्छ हामीहरु मिलेर गर्छौ ।
अब कानूनको अक्षरस पालना गरिन्छ । ऐन र नियमावलीले दिएको अधिकार पूर्ण रुपमा पालना गरिन्छ । अब कम्प्रमाइजमा जाने अवस्थामा अव डा. सन्तोष छैन । निर्देशकको जिम्मेवारी पुरा गर्छु । तपाईँहरुको साथ सहयोग र समर्थन अब चाहियो । अब वीर अस्पताल राम्रो बनाउने कि सधैभरी किचोलेर कसैको इन्ट्रेष्टमा चलाउने भन्ने सबैले ख्याल गरिदिनुहोला ।
सम्पर्क इमेल : [email protected]
Great commitment
So good