ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
अब बीमा सुरु हुन बाँकी देशभर तीनवटा स्थानीय निकाय
काठमाडौँ, २ पुस । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।
कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् ।
महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए ।
‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ । अरु थुप्रै दर्ता सहयोगीहरुको नियुक्त गर्ने तथा तालीम दिने काम अव सुरु हुन्छ,’ उनले भने ।
महानगरले बीमाका लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेर कार्यक्रम अघि सारेको हो ।
स्वास्थ्य बीमा बोर्डका अनुसार अब देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलका अनुसार अब काठमाडौँ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी तीनवटा स्थानीय निकायमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम सुरु हुन बाँकी छ ।
विसं २०७२ साल २५ चैतमा कैलाली जिल्लाबाट सुरु भएको यो कार्यक्रममा प्रतिपरिवार (पाँच जना)ले ३ हजार ५ सय प्रिमियम तिर्दा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ ।
सम्पर्क इमेल : [email protected]