कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल सत्रौँ बर्षमा प्रवेश

काठमाडौं, ३० मंसिर । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल (केडीसीएच) शनिवार देखि १७ औँ बर्षमा प्रवेश गरेको छ ।
दन्त शिक्षा तथा सेवाका क्षेत्रमा विशेष पहिचान बनाएको केडीसीएच सन् २००७ डिसेम्बर १६ देखि सञ्चालनमा आएको हो ।

डेन्टल कलेज तर्फ काठमाडौँ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो संस्था नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको स्विकृतिमा सञ्चालित छ ।

शनिबार बार्षिकोत्सव समारोहमा केडीसीएचका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफ्नो संस्थाले दन्त शिक्षा र सेवाको क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरे । उनले केडीसीएचबाट अहिलेसम्म १० लाख बढी व्यक्तिले दन्त उपचार सेवा लिएको भन्दै सयौँ चिकित्सक उत्पादन भइसकेको बताए ।

‘हामी कहाँबाट व्याचलर ईन डेन्टल सर्जरी (बीडीएस) तर्फ ४६६ जना डाक्टर र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ २८ जना विशेषज्ञ डाक्टर उत्पादन भइसक्नु भएको छ,’ डा श्रेष्ठले भने । उनले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा २०६९ साल देखि संचालित सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ  ६ सय ७५ जना र डिप्लोमा ईन फार्मेसी तर्फ २ सय ५९ जना प्रबिधिकहरु उत्पादन गरिसकेको बताए ।

सो अवसरमा डा श्रेष्ठले कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ यसै शैक्षिक वर्ष देखि केयुको सम्वन्धनमा चार वर्षे बी.एस्सी इन ल्यावोरेटरी मेडिसिन (बीएस्सी–ल्याब.मेड.) पनि सुरु गरेको जानकारी दिए ।

विसं २०७० साल असोज देखि एक सय शैयाको जनरल हस्पिटल समेत शुरु गरिएको यस अस्पतालमा केडीसी ओरल एण्ड म्याक्जिलोफेसियल ट्रमा सेन्टन्ट, ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स, तथा डेन्टल इम्प्लान्ट सेन्टर सञ्चालनमा रहेको छ ।

केडीसीएचले हालै मात्र आँखा उपचारमा पनि पाइला चालेको छ । कलेजको प्रांगणमा यसैवर्षदेखि बी एम फाउण्डेशन र ताइवानको ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर पनि सुरु गरेको छ ।

यसैबीच बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि बनेका नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालले नेपालको मुख तथा दन्त शिक्षा र सेवाको क्षेत्रमा केडीसीएचले पुरयाएको योगदान प्रशंसनीय भएको बताए । उनले मुख तथा दन्त स्वास्थ्य शरीरको ऐना हो भन्दै यसलाई स्वस्थ राख्न सके धेरै रोग लाग्नै नसक्ने बताए । डा भुसालले दन्त क्षेत्रका जनशक्ति बढेसंगै रोजगारीको अवसरमा पनि बृद्धि हुनु पर्ने भन्दै सरकारले यसको दरबन्दी बढाउनु पर्ने बताए ।

काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले केयुको सबैभन्दा राम्रो कलेजको सूचीमा केडीसीएच अग्रस्थानमा आउने भन्दै प्रशंसा गरे । उनले केडीसीएचमा अधययन्रत विद्यार्थीहरुलाई सहि कलेज छनौट गरेको भन्दै बधाई दिए । १६ वर्ष पार गरेको केडीसीएच अब लक्का जवान भएको भन्दै अब यसको शिक्षा र सेवाको गुणस्तर झन् परिस्कृत ढंगले आउने विश्वास व्यक्त गरे ।

यता नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले डेन्टल तर्फको शिक्षा र सेवामा केडीसीको कार्य राम्रो रहेको बताए । उनले बीडीएस र एमबीबीएसको शुल्कमा भएको अन्तरले डेन्टल मात्रै सञ्चालन गर्ने कलेजहरुलाई मर्का परेको आफूले थाहा पाएको भन्दै त्यो समस्यामा केडीसीएच पनि परेको बताए । उनले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसहित बसेर नमिलेको कुराहरुलाई मिलाउनु पर्ने बताए ।

केडीसीएचका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रममा अस्पताल निर्देशक डा प्रतिक्षा श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिईन् । यस्तै नेपाल डेन्टल एसोसिएशनका अध्यक्ष प्राडा प्रणयरत्न शाक्यले शुभकामना दिएको कार्यक्रममा केयु स्कुल मेडिसिनका पूर्व डीन डा नरेन्द्रबहादुर राणा, निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएशनका महासचिव भीम चन्दको सहभागिता रहेको थियो ।

सो अवसरमा १५ वर्ष सेवा अवधि पुगेका १४ जना र १० वर्ष सेवा अवधि पुगेका २५ जना कर्मचारीलाई सम्मान समेत गरिएको थियो । समारोहमा बीडीएस, सीडीएस र डिप्लोमा इन फार्मेसीमा अध्ययनरत छात्र छात्राले नृत्य प्रस्तुत गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *