एक पटक रेफर बनाएका स्वास्थ्य बीमामा आवद्ध बिरामीले अब सोही रोगको फलोअपमा जाँदा पुन: रेफर नचाहिने
स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीले अब एकै पटक तीन महिनालाई औषधि पाउने
काठमाडौँ, ३० मंसिर । अब एक पटक ‘रेफर’ कागज बनाएका स्वास्थ्य बीमा आवद्ध बिरामीले सोही रोगका लागि फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने भएको छ ।
यसअघि नियमित फलोअपमा गइरहनु पर्ने स्वास्थ्य वीमामा आवद्ध बिरामीले उपचारमा वीमा सुविधा लिनका लागि हरेक पटक प्रथम विन्दुबाट रेफर कागज लिएर जानु पर्ने हुन्थ्यो । रेफर बनाएको एक साता भित्र सेवा लिईसक्नु पर्दथ्यो ।
यो विरामीका लागि निकै नै अव्यवहारिक र झन्झटिलो कुरा थियो । त्यसलाई सुधार गर्ने प्रक्रिया स्वरुप बोर्डले एउटै रोगका लागि फलोअपमा जानु पर्ने बिरामीले हरेक पटक रिफर कागज गराईराख्नु नपर्ने व्यवस्था मिलाएका हौँ,’ बोर्डका सदस्य जुनु श्रेष्ठले भनिन् ।
‘मानौँ मुटु अथवा क्यान्सर वा कुनै अप्रेसन गरेका बिरामी, १५ दिन, एक महिना वा छ महिनामा फलोअप जानु परिराख्छ भने सोही सोही रोगका लागि जति पटक फलोअपमा जानु परे पनि रेफर लिईराख्नु पर्दैन । तर फरक रोगको उपचारका लागि हो भने चाहिन्छ,’ सदस्य श्रेष्ठले थप प्रष्ट पारिन् ।
यस्तै बोर्डले अब नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि पनि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाएको छ । यसअघि यस्ता बिरामीलाई पनि वीमाले एक महिनाका लागि मात्रै औषधि दिने गर्दथ्यो ।
‘फलोअपमा तीन महिनाका लागि बोलाउने तर औषधि एक एक महिनामा लिनु पर्ने अवस्थाले पनि बिरामीलाई झन्झट थियो, खर्चिलो थियो । यता अस्पतालमा पनि अनावश्यक भीड थपिन्थ्यो । दुबै पक्षलाई सहजताका लागि यो पनि सुधार्ने कोशिश गरेका हौँ,’ सदस्य श्रेष्ठले भनिन् ।
बुधबारको बैठकले सेवा प्रदायकको दावी भुक्तानी, सह भुक्तानी, सुविधा थैलीको औषधिको मूल्य समायोजन लगायतका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]