बिराट मेडिकल कलेजका सनम र संस्कृति बने केयुको एमबीबीएस टपर

पहिलो लहरमा गाउन सहित केयु टपर संस्कृति र सनम

काठमाडौँ, २९ मंसिर । काठमाडौँ विश्वविद्यालय (केयु)को चिकित्साशास्त्र संकाय तर्फ एमबीबीएसमा यसवर्ष सर्वोत्कृष्ठ नतिजा ल्याउने छात्र र छात्रा दुबै बिराट मेडिकल कलेजका रहेका छन् ।

केयुको सम्वन्धन प्राप्त १० वटा मेडिकल कलेजमा एमबीबीएस अध्ययन् गरेका एक हजार बढी विद्यार्थीलाई उछिन्दै छात्र तर्फ सनम ढकाल र छात्रा तर्फ संस्कृति श्री कोइरालाले केयु टप गरेका हुन् ।

छात्रतर्फ केयु टपर बनेका बाग्लुङ बलेवाका ढकालले एमबीबीएसमा कुल ८४.२६ प्रतिशत अंक ल्याएका थिए । यस्तै छात्रा तर्फकी टपर कोइरालाले ८०.२९ प्रतिशत अंक हासिल गरेकी थिईन् ।

गत बुधबार भएको केयुको २९ औँ दिक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमबीबीएस टपर उनीहरुलाई स्वर्ण पदकद्धारा सम्मान गरेका थिए ।

‘हामी केयु अन्तरगर्तको कान्छो कलेज हो । तर हाम्रो पढाईको गुणस्तर सबोत्कृष्ठ छ । त्यो यसपटकको नतिजाले पनि देखाएको छ,’आफ्नो छात्रा र छात्रले विश्वविद्यालय नै टप गरेपछि विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले खुशी व्यक्त गर्दै भने, ‘यी दुई छात्रछात्रा चिकित्सा शिक्षा आयोगको प्रकृया पुरा गरेर हामीकहाँ नै थप अध्ययन गर्न चाहेमा थप सहुलियत सहित पढ्ने व्यवस्था मिलाउछौँ ।’

छात्र तर्फका टपर सनम एमबीबीएस सरकारी छात्रबृत्तिमा पढेका हुन् । त्यसैले उनले अहिले अध्ययन पुरा पछि गर्नुपर्ने दुई वर्षे करारमा सेवामा काम गरिरहेका छन् ।

‘अहिले म पर्वत जिल्ला अस्पतालमा दुई वर्षे बोण्ड अन्तर्गत रहेर काम गरिरहेको छु । यो सकिएपछि पीजीको तयारीमा लाग्ने बिचारमा छु । अहिलेसम्म एमडीमा इन्टरनल मेडिसिन विषय पढ्ने होला भनेर विचार गरिरहेको छु,’ उनले भने ।

उनले कलेजको आन्तरिक परीक्षासंगै केयुले लिने चार पटकको बार्षिक परीक्षा पछिको एग्रिगेट अंकका आधारमा आफू केयु टपर बन्न सफल भएको सुनाए ।

‘यसपटक छात्र तर्फ मैले टप गरेको छु भन्ने थाहा थिएन तर एक साता अघि केयुले जागिरको अफर गर्‍यो । केयुले अहिले टपरहरुलाई सिधै जागिरको अफर गर्ने चलन ल्याएको छ । त्यसैले शंका लागेको थियो । नभन्दै टप गरेको रहेछु,’ खुशी हुँदै उनले सुनाए ।

न्युन मध्यम वर्गीय परिवारका उनी विद्यालय तहको अध्ययन पोखराको एक बोर्डिङ स्कुलबाट पुरागरेको र प्लस टू सीसीआरसी कलेजबाट सक्काएको बताए ।

यता छात्रा तर्फ टप गरेकी कोइराला भविस्यमा बालरोग विशेषज्ञ बनेर देशको सेवा गर्ने योजना रहेको बताईन् । ‘युनिभर्सिटीमा सर्बोत्कृष्ठ हुनु खुशीको कुरा हो । मैले टप गर्छु भन्ने सोचेको थिईन तर मिहेनत र लगनशीलतामा भने कुनै कमि थिएन । अहिले त्यसको नतिजा हो कि,’ उनले भनिन् ।

आफूलाई सानो देखि नै डाक्टर बन्ने इच्छा रहेको सुनाउँदै त्यहि अनुसार नै मिहेनत गरेको बताइन । ‘किन – किन मैले सानै देखि डाक्टर बन्छु भन्दै आएँ । यो विषय प्रति मेरो छुट्टै लगाव छ,’ सेन्ट जेभियर्सबाट स्कुल तथा प्लस टू उत्तीर्ण गरेकी उनले भनिन्, ‘अब पोष्ट ग्राजुएट्सको  अध्ययनका लागि इन्ट्रान्सको तयारीमा छु ।’

कोइरालाले  स्वदेशमै पढ्ने र स्वदेशमै सेवा गर्ने आफ्नो इच्छा रहेको समेत उनले सुनाईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *