नयाँ अध्यक्ष आएपछि बस्यो स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक, गर्‍यो आठ बुँदे महत्वपूर्ण निर्णय (निर्णयहरु सहित)

फाइल तस्बिर

काठमाडौँ २८ मंसिर । स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्वले अस्तव्यस्त बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई सम्हाल्ने कोशिश गरेको छ । दुई जना सदस्य सहित गत आइतबार देखि जिम्मेवारी सम्हालेका स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा. गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन् ।

बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलले बुधबारको बैठकले आठ बुँदे निर्णय गरेको बताईन् । उनले वीमा कार्यक्रम देखिएका समस्याहरुलाई प्राथमिकतामा राखेर निर्णय गरेको बताईन् ।

कंडेलका अनुसार बोर्ड बैठकले अहिले बढी समस्याको रुपमा रहेको दावी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

यस्तै नियमित औषधि खाने दीर्घ रोगीहरुलाई तीन तीन महिनाको औषधि दिन मिल्ने, एउटै रोगका लागि फलोअपमा जानु पर्ने विरामीले पटक पटक रेफर बनाउन नपर्ने निर्णय गरेको छ । यस्तै बुधबारको बैठकले कोपेमेन्ट सम्वन्धी व्यवस्था अघि बढाउने र गत असार २ गते लिएको दर्ता अधिकारीहरुको नतिजा सकेसम्म छिटो निकाल्ने लगायतका विषयमा पनि निर्णय भएको पनि बोर्डका सूचना अधिकारी कंडेलले जानकारी दिईन ।

यस्तो छ आठ बुँदे निर्णय

१. सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दावीहरुलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय  विज्ञ समूहको एक स्वतन्त्र दावी पुनारावलोकन समिति गठन गरी, समितिको कार्यविवरण तयार गर्ने र एक महिना भित्र दावी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय गरको छ । पाँच जनाको विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अधिकृत, एक जना फार्मेसी अधिकृत, बोर्डको दावी व्यवस्थापन शाखाबाट एक जना र आइटी शाखाबाट एक जना रहनेछन् ।

२. स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतको औषधिको शुल्क समयानुकुल समायोजन गर्न एक समिति बनाई एक महिना भित्र प्रतिवेदन पेश गर्न लगाउने । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको छैन ।

३. स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (को पेमेन्ट) प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि – २०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने  ।

४. सेवा प्रदायक स्वास्थ्य संस्थाले दावी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने  ।

५. नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट हाल एक – एक महिनाका लागि दिईरहेको औषधि अब चाहि तीन – तीन महिनाका लागि दिने व्यवस्था मिलाउने ।

६. एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुन: प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने  ।

७. स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने  ।

८. स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी मिति २०८० बैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

8 thoughts on “नयाँ अध्यक्ष आएपछि बस्यो स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक, गर्‍यो आठ बुँदे महत्वपूर्ण निर्णय (निर्णयहरु सहित)

  1. बिमित लाई डाक्टरले सिफारिस गरेको औसधि यदि फार्मेसीमा नपाएको खण्डमा बिमित ले बाहिर किनेर दाबी भुक्तानी पाउने सुबिधा पनि आएको भए अझै राम्रो हुन्थ्यो ।

    1. निर्णय सह्रानिय छन्न। राेगि बिरामि लाई अनावश्यक झमेला थपेर अस्पतालमा भिडमात्रै बढ्नेहाे!अझै गर्नसकिने सहजिकरण तर्फ ध्यान जाने बिस्वासछ।

  2. राम्रो काम भयो। औषधि गुणस्तरिय हुन पर्ने कुरामा पनि जोड दिनु पर्यो।

  3. राम्रो काम भइरहेकोले शुभ कामना छ ।
    दर्ता सहयोगीहरूको लागि पनि सुबिधा थप दिन हुन अनुरोध गर्दछौं।

  4. राम्रा राम्रा निर्णयहरु आयका रहेछन।यसमा अझै बिमारिहरुले सेवा लिने क्रममा महङ्गो महङ्गो दबाइहरु (अस्पताल को pharmacy भित्र) नपाउने र बाहिर private मा खरिद गर्नु पर्दा नगदको आबश्यकता ज्यादा पर्ने भएकोले बिमारीमा अलि बढी प्रभावकारि हुन सकेको छैन।यो विषयमा पनि ध्यानाकर्षण भय सुन मा सुगन्ध हुने थियो।🙏🙏🙏🙏🙏

    1. मेरो विचारमा रेफर पेपरको झन्झट हटाउनु पर्ने जस्तो लाग्छ ।किनभने सधै एकै ठाउँमा रहदैन।एउटा परिवार पाँच जना छ भने पाँच ठाउँमा काम गर्ने गर्छ। त्यो मान्छे अचानक बिमारी भयो भने आपतकालीन कसरी रेफर पेपर लिएर आउनु । कि नजिकैको अस्पताल जानुकि।तेसैले यो रेफर पेपर ल्याउनु पर्ने कुरामा पनि विचार गर्नु पर्यो।

  5. निर्णाय राम्रो छ तर मेरो पनि गुनासो बिमा पर्ने दबाई सबै सस्तो मुल्यको पाउने तर महङ्गो दबाई बाहिर किन्नु पर्ने ।यसमा पनि सुधार आओस,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *