‘एमबीबीएस भर्नाका लागि व्यवस्थापन कोटा छैन, महावीर पुनको छोरी पनि मेरिटमै आउनु पर्छ’
काठमाडौँ, २५ मंसिर । चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा भर्नाका लागि कलेजहरुलाई छुट्टै व्यवस्थापन कोटा नभएको बताएको छ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिडेट (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबीर पुनको छोरीलाई व्यवस्थापन कोटा अन्तरर्गत निशुल्क पढाइदिने घोषणा गर्दै भर्नाका लागि सहजीकरण गरिदिन आयोगलाई पत्र पठाएको थियो ।
आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले सोमबार विहान नेपाली हेल्थसंग कुरा गर्दै केएमसीले भने जस्तो कलेज सञ्चालनका व्यवस्थापन कोटा नभएको बताए । उनले भने, ‘आयोग ऐन अनुसार स्थापित र सञ्चालित संस्था हो । यसका कामहरु ऐन अनुसार नै हुने गर्दछन् । अब केएमसीले भने जस्तो व्यवस्थापन कोटा आयोगको ऐनमा छैन । त्यसैले सो कोटा अन्तरगर्त भर्ना हुन मिल्दैन । एमबीबीएसका लागि तोकिएको कोटामा मेरिट अनुसार नै विद्यार्थीले भर्ना पाउने हुन् । तलमाथि हुँदैन ।’
आइतबार केएमसीले महाबीर पुत्री झरना पुनलाई एमबीबीएस अध्ययनका लागि आवासीय सुविधा सहित निशुल्क छात्रबृत्ति प्रदान गर्न चाहेको भन्दै भर्नाका लागि अनुकुलता मिलाइदिन आयोग समक्ष आग्रह गरेको थियो ।
एमबीबीएस अध्ययन लागि एकीकृत प्रवेश परीक्षामा सहभागी भएकी झरनाको मेरिट लिष्टमा ६ हजार ५१८ औ नम्बरमा नाम निस्किएको छ । आयोग विद्यमान नियमले उनले नेपाल भरीका मेडिकल कलेजमा भर्ना पाउन मुस्किल छ । केएमसीले सोही कुरा उल्लेख गर्दैै व्यवस्थापन कोटा अन्तरगर्त आफूहरुले झरनालाई निशुल्क पढाउन खोजेको उल्लेख गरेको थियो ।
केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठपत्रमा भनिएको छ, ‘नेपाललाई कर्मथलो बनाई विज्ञानका क्षेत्रमा आफ्नै स्रोत र साधनहरुको जोहो गरी अहोरात्र खटिदै आउनु भएका महाबीर पुनको छोरीले आयोगको नीति नियमको परिधिले गर्दा देशभरका मेडिकल कलेजमा एमबीबीएसमा भर्ना पाउन कठिन बनेको परिस्थितिले गर्दा यो निवेदन गर्न चाहन्छौँ ।’
पत्रमा महावीरले देशका लागि केही गर्छु भन्दै विदेशका अवसर त्यागेर आएको र युवाहरुलाई स्वदेशमै कर्मशील गराउने कार्यमा क्रियाशिल रहेको अवस्थामा उनको छोरीलाई सांसद समेत रहेका कलेका पूर्व अध्यक्ष डा सुनील शर्माले निशुल्क पढाईदिन खोजेको उल्लेख छ ।
उपाध्यक्ष झाले नेपालका प्रतिष्ठित व्यक्ति महावीर पुनको सन्तानले कानूनमै नभएको कोटा नखोज्ने भन्दै प्रतिस्पर्धामै उत्रिएर मेरिटमै नाम निकालेर पढ्नेमा आफू विश्वस्त रहेको बताए ।
यो पनि हेर्नुहोस्
महाबीर पुनको छोरीलाई नि:शुल्क एमबीबीएस पढाउने केएमसीको घोषणा, भर्नाका लागि अनुकुलता प्रदान गर्न आयोगसंग आग्रह
सम्पर्क इमेल : [email protected]