पाँच ठाउँमा सुलभ फार्मेसी सञ्चालनमा ल्याउँदै काठमाडौँ महानगर

अहिलेको बजार मूल्य भन्दा कम्तीमा ३० प्रतिशत सस्तो हुने

काठमाडौँ, १७ मंसिर । आम सर्वसाधारणलाई सुलभ दरमा गुणस्तरीय औषधि उपलव्ध गराउने योजना अनुरुप अघि बढेको काठमाडौँ महानगरपालिका विभिन्न पाँच स्थानमा सुलभ फार्मेसी सञ्चालनमा ल्याउँदै छ । महानगरले सञ्चालनमा ल्याउन लागेको यो सुलभ फार्मेसी भारतको ‘प्रधानमन्त्री जन औषधि योजना’ मोडलमा अघि बढ्ने बताइएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले अहिले सुलभ फार्मेसी रहने स्थान तोक्ने र फार्मेसीमा राखिने औषधिका प्रकार छनौट गर्ने काम भइरहेको बताए । उनले केही महिना भित्र यो अभियानले पूर्णता पाउने बताए ।

सुलभ फार्मेसी कार्यक्रमको लागि विशेषज्ञको रुपमा सघाई रहेका औषधि विज्ञ डा सतिश देवले केही महिना भित्र सुलभ फार्मेसी सञ्चालनमा आउने बताए । ‘औषधि छनौटको काम लगभग सकिएको छ । करीव १९०० देखि २१०० प्रकारका औषधिहरु रहनेछन् । यी औषधिहरु गुणस्तरीय त हुन्छन् नै अहिलेको बजार मूल्यभन्दा कम्तीमा ३० प्रतिशत सस्तो हुनेछ,’ उनले भने ।

महानगरभित्र पाँच ठाउँमा खुल्नेछ सुलभ फार्मेसी
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार महानगर भित्रका विभिन्न पाँच ठाउँमा सुलभ फार्मेसी खुल्नेछन् । फार्मेसी खोल्नका लागि क्षेत्र तोकिएको छ, त्यसमा बबर महल देखि नयाँ बानेश्वर क्षेत्र, चावहिल देखि महाराजगञ्ज क्षेत्र, लैनचौर बालाजु क्षेत्रपाटी क्षेत्र, कलंकी कालिमाटी क्षेत्र र वीर अस्पताल वरपरको क्षेत्र तोकिएको छ । यसमध्ये बबरमहल क्षेत्रमा स्थान पाएर पूर्वाधारको काम समेत सुरु भइसकेको स्वास्थ्य विभाग प्रमुख पौडेलले जानकारी दिए ।

विशेषज्ञ डा. सतिश देवले बबरमहलको पूर्वाधार अघि बढ्दै गर्दा अब औषधि खरीद प्रक्रिया समेत अघि बढाउदै लगिन लागेको बताए ।

‘खरीद प्रक्रिया समेत केही समय लाग्ने भएकोले यसलाई पनि अब छिटै नै अघि बढाउँदै छौँ ।  केही महिना भित्रबाट महानगरमा सुलभ फार्मेसीले सेवा दिन थाल्ने छ,’ उनले भने । उनले औषधिको गुणस्तर र मूल्यमा सुलभता यसको विशेषता हुने दावी गरे ।

डा. सतिश देवले सुलभ फार्मेसी अस्पतालका बिरामीसंगै समुदायहरुका लागि समेत सहज हुने गरी पायक पाउने ठाउँमा गाडी रोक्न समेत मिल्ने क्षेत्रलाई प्राथमिकता दिएर स्थान तय गरिन लागेको बताए ।

बबरमहलमा आर्ट काउन्सिल नजिकै रहेको ११ नम्बर वडा कार्यालयसंगै फार्मेसी राख्ने तयारी भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *