नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज देखि सुरु
काठमाडौँ, १० मंसिर । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज देखि काठमाडौँमा सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन : अवसर र चुनौती’ भन्ने मुख्य सन्देश सहित दुई दिने सम्मेलन सुरु भएको हो ।
बबरमहलस्थित कार्की बेङ्क्वेटमा विहान ९ बजेबाट भए पनि औपचारिक उद्घाटन अपरान्ह तिर हुँदैछ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि यो सम्मेलन असोजका लागि तय भएको थियो । तर चिकित्सक माथि आक्रमण र दुर्व्यहारका घटना बढेपछि संघले त्यसबेला अन्तिम समयमा स्थगित गरेको थियो । आजबाट सुरु भएको सम्मेलन त्यसैको निरन्तरता हो ।
सम्मेलनमा स्वास्थ्यका विभिन्न सातवटा विषयमा छलफल हुने बताइएको छ ।
यसमा दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धी, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरणका विषयमा छलफल हुनेछन् ।
यस्तै स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयको छलफलमा केन्द्रित हुनेछ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा चोपलाल भुसालले भने ।
सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बताए ।
सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले ‘की नोट स्पिच’ दिने छन् ।
सम्पर्क इमेल : [email protected]