जलवायु परिवर्तन र स्वास्थ्य सम्वन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
काठमाडौँ, ६ मंसिर । जलवायु परिवर्तन र स्वास्थ्य सम्वन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार देखि काठमाडौँमा सुरु भएको छ । इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यो सम्मेलनको आयोजना गरेको हो ।
‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको यो सम्मेलनमा जनवायु परिवर्तन र यसले पारेको असरका बारेमा खोज तथा अनुसन्धान गरिरहेका विभिन्न देशका १५० बढी बैज्ञानिकहरु सहित करीव ३०० जनाको सहभागिता छ ।
सम्मेलनको नारा ‘अण्डरस्टयाण्डिङ द ग्लोबल ल्याण्डस्केप अफ डिजिज बर्डन इन द कन्टेक्ट अफ क्लाइमेट चेन्ज’ रहेको छ ।
सम्मेलनले जलवायु परिवर्तनको विश्वव्यापी परिदृश्यमा पर्ने रोगको बोझको सन्दर्भमा ज्ञान, विशेषज्ञता र बैज्ञानिक अनुसन्धान तथा दृष्टिकोणमाथी छलफल गरी निष्कर्ष निकाल्ने छ ।
सोही निस्कर्ष आगामी ३० नोभेम्बर देखि १२ डिसेम्वरसम्म युएईको दुबईमा आयोजना हुन गईरहेको संयुक्त राष्ट्रसंघको २८ औँ जलवायु परिवर्तन सम्वन्धी सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ ।
नक्सालस्थित म्यारियट होटलमा सुरु भएको यो सम्मेलनको मंगलबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले जनवायु परिवर्तनले स्वास्थ्य तथा बातावरणको क्षेत्रमा गम्भीर संकट उत्पन्न गर्दै गईरहेको भन्दै यसमा सबै पक्ष चनाखो हुनु पर्ने बताए । उनले कुनै एउटा देशको प्रयासले मात्रै यो नियन्त्रण गर्न असम्भव भएको भन्दै सबै देश यसमा जलवायु परिवर्तन सम्वन्धी संकट टार्न हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले जलवायू परिवर्तनले निम्त्यारहेको असरको बारेमा उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सम्वेदनशील ढंगले लागि रहेको बताए ।
इन्टिच्युट अफ ट्रपिकल मेडिसिनकी निर्देशक प्राडालुत लिनेनले जलवायु परिवर्नतले अप्रत्यक्ष रुपमा धेरै स्वास्थ्य समस्याहरु निम्तिएको बताई् ।
कार्यक्रमका अध्यता गरिरहेका नेपाल स्वास्थ्य अनुुसन्धान परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालेको भन्दै अग्ला हिमाल नांगिदै गएको, किटजन्य रोगहरु उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखा पर्नु यसको असर भएको बताए ।
परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले जलवायु परिवर्तनले निम्तिएको असरका सन्दर्भमा नेपालले नेतृत्व दायी भूमिका खेलेर विश्व मञ्चमा आवाज उठाउनु पर्ने बताए ।
कार्यक्रममा आईटीएमका प्राडा रुथ मुलर तथा डा जो बरी लगायतले आफनो धारणा राखेका थिए। यस्तै परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव तथा प्रतिक्रियाकाबारेमा प्रस्तुति दिएका थिए ।
डा धिमाललाई आईटीएम साइन्टिफिक एक्सिलेन्स अवार्ड
यसैबीच यसैबीच परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले आईटीएम साइन्टिफिक एक्सिलेन्स अवार्ड प्राप्त गरेका छन् ।
जलवायु र स्वास्थ्यका क्षेत्रमा गहिरो अनुसन्धान गरेको भन्दै इन्टिच्युट अफ ट्रोपिकल मेडिसिन बेल्जियमले उनलाई सो अवार्ड प्रदान गरेको हो ।
मंगलबार सम्मेलनको उद्घाटन सत्रको अवसरमा आईटीएम प्राडा लुत लिनेनले सो अवार्ड डा धिमालालाई हस्तान्तरण गरेकी हुन् ।
सम्पर्क इमेल : [email protected]