गीता : पोषण अगुवाबाट पोषण कार्यक्रमको नेतृत्व गर्ने स्थानीय प्रतिनिधिसम्म
“मेरो पहिलो बच्चा जन्मिँदा कम तौलको थियो । मैले गर्भावस्थामा पर्याप्त पोषण नपाएको कारणले बच्चा कम तौलको जन्मिएको हो भन्ने थाहा पाउँदा म एकदमै चिन्तित भएँ । यो तीतो अनुभवले मलाई आफु र आफ्नो परिवारको लागि केही गर्नुपर्छ भनेर झक्झकायो । त्यसपछि मैले परिवार, समुदाय र अहिले समग्र गाउँपालिकामा नै परिवर्तन ल्याउनका लागि प्रयासरत छु ।’
यो भनाई नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीको हो ।
गीताको यहाँसम्मको यात्रा असाधारण रहेको छ । सिमान्तकृत थारु समुदायमा बालविवाह सामान्य थियो ।
गीता चौधरी पनि आफ्ना साथीहरुजस्तै सानैमा बिहे गर्न बाध्य भएकी थिइन् । जसको कारण उनको पढाइ पनि छुट्न गयो ।
परम्परागत मान्यता र परिवारको कमजोर आर्थिक स्थितिका कारण आफ्नो गर्भावस्थाका बेला गीताले पोषिलो खाना खान पाइनन् । यसले उनको गर्भको बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर पार्न गयो । फलस्वरुप उनले कम तौलको बच्चा जन्माउन पुगिन् ।
बच्चा कम तौलको जन्मनुमा कतै आफ्नो दोष त थिएन भन्ने पिरलोले उनलाई आफ्नो समुदायका मान्यताबारे सोच्न बाध्य बनायो । उनले यसबारे थप जानकारी लिने र भविष्यमा यस्तो अरुलाई हुन नदिन सहयोग गर्नेबारे सोच्न थालिन् । यसैबेला उनी दश वर्ष अगाडि युएसएआइडीको सुआहारा कार्यक्रमसित जोडिन पुगिन् ।
यो अवधिमा आफ्नो समुदायले आफुले जस्तै कम बच्चा जन्माउनु परेको पीडाबोधबाट गुज्रिन नपरोस् भनेर उनले समुदायमा सचेतना फैलाउने काम गरिन् । उनले कैयौं घरहरुमा पुगेर थुप्रैपटक परिवारहरुलाई परामर्श दिइन् । समुदायमा महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारबारे सचेतना फैलाउने थुप्रै अभियानहरुमा सहभागी बनेर ।
यद्यपि उनले छिट्टै अनुभव गरिन् कि समाजमा सदियौंदेखि चलिरहेका र हाम्रो मस्तिष्कमा गडेर रहेका मान्यतालाई सचेतना फैलाएर मात्रै परिवर्तन गर्न सकिन्न । नत गरिब परिवारमा पोषिलो खानाको पहुँच बढ्न सक्छ । उनको यो अनुभुतिलाई कोभिड – १९ को महामारीले झन् पुष्टि गरिदियो ।
खाना र खोपका लागि मानिसहरुले गरेको संघर्ष देखेर यसबारेमा केही गर्ने अभिलाषा उनमा जागृत भयो । त्यसपछि गीताले गत स्थानीय चुनावमा आफ्नो सुस्ता गाउँपालिकाको उपाध्यक्षमा लड्ने निधो गरिन् । समाजमा पहिल्यै रहेको आफ्नो पहिचान र कामबाट उनी गाउँपालिकाको उपाध्यक्ष पदमा बिजयी पनि बनिन् ।
गीता भन्छिन्, “मैले सुआहारामा काम गर्ने क्रममा थुप्रै बस्तीहरुमा पुगें । सिमान्तकृत समुदायमा आमा र बच्चाहरुले कठीन अवस्था सामना गर्नु परेको देखें । यसले मलाई आफुले पनि केही गर्नुपर्छ भन्ने लाग्यो । र, आज म जे छु, यसमा सुआहारा कार्यक्रमको ठुलो देन रहेको छ ।’
स्वास्थ्य र पोषणमा एक दशकको अनुभवले गर्दा गीता अहिले पनि पोषिलो खाना प्रदर्शनी वा गर्भधारण वा सुत्केरी भएपछि मनाइने उत्सवहरुको योजना निर्माण र कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन्छिन् । साथमा उनले सुआहारा कार्यक्रमले तालिम दिएका ५ जना लैङ्गिक समानता अगुवाहरुलाई गाउँपालिकाले परिचालन गर्न बजेट छुट्याउने काममा नेतृत्व गरेकी छन् । यी ५ जना अगुवाहरुले अहिले सामाजिक कार्यकर्ताको रुपमा गाउँपालिकामा स्वास्थ्य तथा पोषणसम्बन्धी सकारात्मक लैङ्गिक मान्यता र अभ्यासहरु प्रवद्र्धन गर्ने काम गरिरहेका छन् ।
गीताको आकाँक्षा भने स्थानीय तहभन्दा पर पनि छ । उनले प्रादेशिक र संघीय तहमै सचेतना र प्रभाव पार्ने लक्ष्य राखेकी छन् । गीता भन्छिन्, “शिक्षा, स्वास्थ्य र पोषण हाम्रो समुदायको विकासका लागि अत्यन्तै महत्वपुर्ण एजेण्डा हो भन्नेमा मलाई विश्वास छ । दुर्भाग्यवश सामाजिक विकासका यी एजेण्डालाई स्थानीय तहमा पुर्वाधार विकासको प्राथमिकताले पछाडि पारेको छ । हाम्रो गाउँपालिकामा सामाजिक विकासलाई प्रमुख एजेण्डा बनाउनमा मेरो जोड निरन्तर रहेको छ ।”
प्रफुल्ल तर प्रतिवद्ध गीताले थपिन्, “हाम्रो सुस्ता गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता सामाजिक विकासका एजेण्डालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ । यसलाई अझै बढाउन र प्रभावकारी कार्यान्वयन गर्न म निरन्तर लागिरहनेछु ।”
सम्पर्क इमेल : [email protected]