जाजरकोट भूकम्पका ३८ घाइतेको भेरी अस्पतालमा उपचार हुँदै, सबै खतरा मुक्त
नेपालगञ्ज, १९ कात्तिक । भेरी अस्पतालले उपचारका लागि नेपालगञ्ज ल्याइएका जाजरकोट भूकम्पका ३८ जना घाईतेको स्वास्थ्य अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जनाएको छ ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्पबाट घाइते भएका ३८ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । त्यसमध्ये ३७ जनाको भेरी अस्पताल र एक जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालले आज विहानै विज्ञप्ती जारी गर्दै दुबै ठाउँमा उपचाररत व्यक्तिहरु खतरामुक्त हरेको बताएको हो ।
त्यसो त भेरीमा गएराती १२ ५० बजे थप ६ जना घाइते एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको थियो । जसमध्ये २ जना भेरी नगरपालिका जाजरकोट र ४ जना सानीभेरी रुकुमका रहेका छन् ।
अस्पतालले ३८ जनामध्ये ५ जनाको शल्यक्रिया गर्नु परेको र गएराती १२ बजेसम्म शल्यक्रिया सकिएको बताएको छ ।
यसअघि नेपालगञ्जमा उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको बताइएको थियो । तर भेरी अस्पतालले अस्पताल आई नपुग्दै बाटोमै ती व्यक्तिको ज्यान गएको जनाएको छ । नलगाड १ जाजरकोटका मृतकको शव आज विहान त्यस तर्फ पठाउने व्यवस्था मिलाएको समेत जनाएको छ ।
सरकारले भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकेकोले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको एक व्यक्तिलाई पनि भेरीमै ल्याउने तयारी भएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]