कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सहकार्य गर्ने समझदारी
काठमाडौँ, १६ कात्तिक । स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक कार्यक्रमका विषयमा आपसी सहकार्य गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियास्थित सनवे मेडिकल ग्रुपबीच समझदारी भएको छ ।
मंगलबार मलेसियाको राजधानी क्वालालम्पुरमा प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र सनवेका अध्यक्ष डा लाउ विङ लङले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा मलेसियाका लागि नेपालका राजदूत डिल्ली राज पौडेलको समेत उपस्थिति थियो ।
‘सनवे मेडिकल ग्रुप मलेसियामा निजी क्षेत्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो ग्रुप मध्येको हो । हामीले संस्थागत आपसी हितका लागि द्धीपक्षीय सम्झौँता गरेका छौँ । डा रावलले भने । उनका अनुसार विशेषत उपचार सेवा, शैक्षिक अनुसन्धान र शैक्षिक कार्यक्रमका लागि सहयोग आदान प्रदान हुनेछ । खासगरी हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई फेलोसिप, तालीम, तथा सिकाईमा सनवेले सहयोग गर्दछ । हामीले पनि उनीहरुका लागि केही अवसरहरु उपलव्ध गराउन सक्छौँ । हाम्रो उदेश्य कर्णालीमा उत्कृष्ठ सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने हो । त्यसका लागि विश्वका विभिन्न देश र संस्थासंग हामीले सहकार्य गरेका छौँ र गर्ने छौँ,’ उपकुलपति डा रावलले भने ।
उनले यो समझदारीलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा महत्वपूर्ण कदमको प्रतिनिधित्व हो भन्दै यसले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा दुबै संस्थाहरूको लागि बहुमूल्य साझेदारी र अवसरहरूको नेतृत्व गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]