डब्लुएचओ सेरोको पूर्ण बैठक भोलि देखि सुरु हुँदै, क्षेत्रीय निर्देशक छनौटको निर्वाचन आगामी बुधबार
काठमाडौँ, १२ कात्तिक । भोली देखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ ।
भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई व्यक्तित्व नेपालका डा. शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद मध्ये एक जनालाई छनौट गर्नेछ ।
बैठक भोलि देखि चार दिन अर्थात ३० अक्टुबर देखि २ नोभेम्वर सम्म चल्ने छ । क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्यतालिका बैठक सकिनु एक दिन अघि अर्थात १ नोभेम्बरका लागि तय गरिएको छ ।
डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन् । त्यसैले यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशक तय हुनेछ ।
बैठकले छनौट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्याण्डको जेनेभामा हुने डब्लुएचओ बोर्ड बैठकमा पेश गरिनेछ । नव नियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।
यसपटकको बैठकमा डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र डब्वुएचओको दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहको उपस्थिति रहने जनाइएको छ ।
स्वास्थ्यका अरु तीनवटा विषयमा पनि गम्भीर छलफल
सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरु र बरिष्ठ अधिकारीहरुको उपस्थिति रहने यो बैठकले नेतृत्व छनौट मात्रै गर्दैैन । स्वास्थ्यका अरु तीनवटा विषयमा पनि गम्भीर छलफल गर्नेछ ।
यसपटकको बैठकमा हृदय रोगको रोकथाम र नियन्त्रणलाई तिब्रता दिने, उपेक्षा गरिएका किटजन्य रोगहरुको अन्त्य र क्षेत्रीय स्वास्थ्य सुरक्षाका विषयमा छलफल हुनेछ ।
यहि बैठकमा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्त गर्ने मुख्य तत्वहरुको रुपमा प्राथमिक सवास्थ्य सेवालाई सुदृढ पार्ने विषयमा पनि मन्त्रीस्तरीय गोलमेच सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यस्तै क्षेत्रीय समितिको बैठकमा जनस्वास्थ्य उपलब्धिहरुका लागि देशहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
दक्षिण पूर्वी एशिया क्षेत्रको रिपोर्ट कार्ड कस्तो छ ?
दुई अर्व भन्दा बढी मानिसहरु बसोबास गर्ने यस क्षेत्रले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल पनि गरेको छ । सन् २०१४ देखि यस क्षेत्रले पोलियो र मातृ तथा नवजात टिटानस उन्मुलन गरेको छ । भुटान, माल्दिभ्स, श्रीलंका र टिमोर लिष्टेले आठ प्रमुख प्राथमिकतामा रहेको दादुरा र रुवेला उन्मुलन गरेका छन् ।
उपेक्षित मानिएको किटजन्य रोगहरुको उन्मुलनलाई प्राथमिकता दिदै चार देशहरु माल्दिभ्स, श्रीलंका, थाइल्याण्ड र बंगलादेशले हात्तीपाइले रोगलाई निर्मुल पारेका छन् । यस्तै नेपाल र म्यानमारले ट्रकोमालाई निर्मुल पारेका छन् ।
मातृ, नवजात र पाँच वर्ष मुनिको मृत्युदरमा तीब्र कमि ल्याउन केन्द्रीत रहेको यस क्षेत्रले सन् २००० र २०२० बीचमा मातृ मृत्युदरमा ६८.५ प्रतिशत कमी र ५ वर्ष मुनिको मृत्यु दरमा ४५ प्रतिशत र नवजात शिशु मृत्यु दरमा ३९ प्रतिशतले कमी देखिएको छ ।
उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, श्रीलंका र थाइल्याण्ड गरी पाँच देशरुले पाँच वर्ष मुनिको मृत्युदर र नवजात शिशु मृत्युदर घटाउने २०३० को दीगो विकास लक्ष्यहरु हासिल गरिसकेका छन् ।
यस क्षेत्रले सन् २००० देखि २०२० को बीचमा सुर्तीजन्य पदार्थको प्रयोगमा सबैभन्दा छिटो गिरावट गराउन सफल भएको छ ।
पुरुषहरुमा धूमपान ५० प्रतिशतबाट २० प्रतिशतमा र महिलाहरुमा ८.९ बाट १.६ प्रतिशतमा झरेको छ । यस क्षेत्रका देशहरु सुर्तीजन्य पदार्थमा चेतावनीमुलक चित्रअंकित सन्देशको कार्यान्वयनमा अग्रणी देखिएका छन् ।
सम्पर्क इमेल : [email protected]