दशैंमा गाउँ जाँदा नसर्ने रोगका बिरामी खोज्दै आइतवारी चौधरी

नेपालगञ्ज । दशैंमा मनाउन गाउँ पुगेका नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक आइतवारी चौधरीले शुक्रबार गेरुवा गाउँपालिका वडा नं १ र ३ का बासिन्दाको निशुल्क स्वास्थ्य शिविर राखि उच्चरक्तचाप, मधुमेह र पिसाव परीक्षण गरिदिएका छन् ।

अकालमा हुने मृत्यु दरलाई कम गर्न तथा उपचारको दायरामा नरहेका मधुमेह र उच्च रक्तचापका बिरामीहरुलाई उपचारको दायरामा ल्याउन गाउँ गएका बेला चौधरीले निशुल्क स्वास्थ्य परीक्षणको गरी दशैं शुभकामना आदानप्रदान गरेका हुन् ।

सो शिविरमा ९४ जना व्यक्तिहरुको जाँच गरिएको थियो । जसबाट मधुमेहका ६ जना तथा उच्च रक्तचापका २३ जना बिरामीहरु पत्ता लागेको थियो ।

चौधरीले शिविरमा हेल्थ असिस्टेन्ट मन चौधरी र ल्याब असिस्टेन्ट श्री पबिता चौधरीले प्राबिधिक रुपमा सहयोग गरेको बताए ।

यस्तै गेरुवा गाउँपालिकाको वडा नं. १ र ३ का वडा अध्यक्ष क्रमशः कर्म प्रसाद थारु र निर्मल चौधरीले सेवाग्राहीहरुलाई गाँउका बरघरहरु मार्फत गाउँमा शिविर संचालन हुने स्थान र मितिको बारेमा सुचना प्रदान गरी शिविर संचालन हुने स्थान उपलब्ध गराई दिएर सहयोग गरेको बताए ।

स्वास्थ्य जाँँच शिविर संचालन गरेर मुटु तथा रक्तनलीका रोगको कारणले मृत्यु हुनेहरुको संख्या सन् २०३० मा ३० प्रतिशतबाट बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको संख्यालाई अलिकति भए पनि कम गर्न सकिन्छ कि सोचेर उनले आफ्नो तर्फबाट समाजलाई सानो योगदान स्वरुप यो शिविरको आयोजना गरेको बताए ।

साथै साइलेन्ट किलर रोग भनेर चिनिने उपचारको दायरामा नरहेका ९० प्रतिशत उच्च रक्तचापका बिरामीहरुलाई खोजी गरी उपचारको दायरामा ल्याउनु यो शिविरको उदेश्य रहेका बताए ।

अहिले मानिसहरुको शारीरिक निष्किृयता, अस्वस्थकर खानपान तथा जाँड रक्सीको सेवन गर्ने बानी–व्यवहारले गर्दा नसर्ने रोगहरु जस्तै मुटु तथा रक्तनलीका रोगहरु, दीर्घ स्वासप्रश्वासका रोगहरु, क्यान्सर रोग तथा मधुमेह रोग बढी रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।

विश्वमा प्रत्येक १० सेकेन्डमा ३ जना तथा प्रत्येक बर्ष ९४ लाख मानिसहरु उच्च रक्तचापको कारणले अकालमा ज्यान गुमाईरहेका छन् । यसरी ज्यान गुमाउनेहरुको संख्या नेपालमा पनि कम छैन । अनुसन्धान अनुसार नेपालमा सम्पूर्ण मृत्युको कारण मध्ये ३० प्रतिशत मुटु तथा रक्तनलीका रोगको कारणले मात्र हुने गर्दछ ।

सन् २०३० सम्ममा यो बढेर ३५ प्रतिशत पुग्ने अनुमान रहेको छ । नेपाल जनसांङ्खिक स्वास्थ्य सर्भेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा महिला (१७ प्रतिशत) र पुरुष (२३ प्रतिशत) मा उच्च रक्तचाप पाईएको छ । ती मध्ये ९० प्रतिशत व्यक्तिहरुलाई कुनै पनि लक्षण नभएर उपचार नगराएको पाइएको छ ।

परिणाम स्वरुप उच्च रक्तचापका बिरामीहरुको अकालमा मृत्यु हुने गरेको छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग भन्ने गरिन्छ । उच्च रक्तचाप तथा मधुमेह जस्ता नसर्ने रोगले मानिसहरुको मुख्य–मुख्य अंगहरु जस्तै मिर्गौला, मुटु, आँखा तथा मस्तिष्कमा गम्भीर असर पु¥याउन सक्छ, साथैं कहीले काहीं उपचारमा ढिलाई भएको कारणले गर्दा बिरामीहरुको अकालमा ज्यान समेत जाने गरेको पाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *